Sunday, December 23, 2012

स्कुटर महिमा

सानो छँदा घर अगाडिको बाटो हुँदै दुई जना राम्रा दिदीहरु स्कुटरमा सानसँग अफिस गएको देख्थेँ । त्यतिबेला सोच्थेँ म पनि यस्तै स्कुटर चढ्छु । सान सित अफिस जान्छु । अहिले उनीहरुलाई देख्दिन । 
स्कुटर चढ्ने जो कोहि केटि मान्छे देख्दा आहा म पनि चढ्छु कुनै दिन भन्ने कुरा दिमागमा आइहाल्थ्यो । विस्तारै ठूलो भइयो । स्कुटर चढ्ने सपना पनि जवान हुँदै गयो । आफै पैसा कमाउँछु अनि किन्छु स्कुटर भन्ने सोच्न थालियो । सुरुमा एउटा रेडियोमा समाचार प्रस्तोताको काम गरेँ । विजोग !! कैले काहिँ त घरमा आमासँग बस भाडा माग्नु पथ्र्यो कताको स्कुटर किन्नु । उक्त रेडियोमा काम गरेको झण्डै डेढ वर्षपछि अर्को रेडियोमा काम सुरु गरियो । 
मेरो स्कुटर चढ्ने सपना अब त वयस्क भइसकेको थियो । त्यसैले पनि स्कुटर सिकियो आँटै गरेर । तर के गर्नु । फुकिढल ज्यानले कताको स्कुटर थेग्न सक्थ्यो । जान्दै नजानी सिक्न छोडियो । दैनिक दुइवटा गाडि फेरेर अफिस पुग्दा लामै यात्रा पछि घर पुगेको जस्तो लाग्थ्यो । त्यसैले पनि अब स्कुटर नकिनि हुन्न भन्ने विचार बलियो हुँदै गयो । अझ कैले काहिँ घण्टौँ कुर्दापनि घर पुग्ने गाडि नपाएर दार्इृ वा भाउजुलाई लिन बोलाउनुपर्दा त अब चाहिँ नकिनी हुन्न जस्तो लागि हाल्छ । 
कैले काहिँ आधा घण्टाको बाटो लखर लखर हिँडेर आउनुपर्दा बाटाभरी स्कुटर महिमा गाउँदै आउनुपर्छ । अब त किन्नुपर्छ भन्न थालेको नी ४ वर्ष भइसक्यो । तर किन्ने दिन अझै जुरेन । हिजो आज भेटेका जति सबै जसोले स्कुटर किन्ने सल्लाह दिन्छन् । तर खै के नमिलेको के नमिलेको । मेरो स्कुटर किन्ने कहानीपनि छेपारोको उखान जस्तै भो । झन अचेल त पेट्रोलको भाउ लौका बढ्या जस्तो बढ्या देख्दा कसरी पाल्नु त्यो दुइ पांग्रेलोई जस्तो लाग्छ । जागिर यहि हो । आमा स्कुटरमा तेल हाल्नु पर्यो पैसा दिनुन भन्नुपर्यो भने हेर विजोग । बाले फेरि लोकसेवाको जाँच दिन करकर गर्नुहोला भन्ने पिर । उफ !! 
 झण्डै एक वर्ष अघि एकजना दिदीले "नानी अब त स्कुटर किन" भन्नुभाथ्यो । सजिलोसँग जवाफ फर्काइयो "दिदी घर पछाडिको भोगटेको बोटमा स्कुटर फल्दैन ।" वित्थामा भनिएछ नी !! दिदी अझै नि जिस्काउनुहुन्छ "नानी फलेन स्कुटर" ?? अहँ दिदी फलेन अझै फल्ने दिन आको रैनछ । 

Tuesday, December 4, 2012

अन्तिम पातो


उ त्यहाँ बाट जानु अघी पहिलेको जस्तै भएर गयो पहिलेको जस्तै चम्किलो अनुहार दिउसै तारा झिल्मिलाए जस्तो र थमाएर गयो एउटा सानो नोटबूक उ गएको धेरैबेर पहिलेको उ र अहिलेको उ बीच तुलना गर्दै बसेँ । उस्तै । परिवर्तन ...एउटा गाम्भिर्यता !! पहिले भन्दा अली भावुक, तर त्यस्तो नलाग्ने, उस्तै चट्पटाहट , चिटिर पिटिर । धेरै बेर पछी उस्ले थमाएको नोटबूक खोलें ! कस्तो आलु रछ जाबो दुइपन्ना त्यो पनि अन्तिम पातो मात्र पो रहेछ , अगाडिको पछाडिको कभरले पो मोटो भको रछ । अन्तिम पातो मात्र रहेछ
अन्तिम पातोको सार यहाँ उल्लेख छ....
.......................................
कति सजिलै गालि गरिन्छ वा तारिफ गरिन्छ है समयको । केहि राम्रो भो समय, केहि नराम्रो भो समय, समयले यस्तो गरायो, समयले उस्तो गरायो । सजिलो बहाना हो समय जे सुकैको लागि जस वा अवजस दिनु । तर म समयको अवज्ञा गर्ने मान्छे । मलाई समयले यहाँ पुर्यायो वा समयले यस्तो गरायो भन्न मन लाग्दैन भन्दिन । सबै कुराको सहि समय आउँछ त्यो आफ्नो ठाउँमा छ तत् क्षणमा के कस्तो कुरा हुन्छ वा घटना हुन्छ त्यो पात्रमा निर्भर हुन्छ भन्नेमा म विश्वास गर्छु । कुनै बेला म एकदम आशावादी मान्छे थिएँ । न भन्ने शब्द सके सम्म कतै कसैगरी उचारण गर्नु नपरोस भन्ने पक्षमा रहन्थेँ । 
संसारमा केहि कुरा असम्भव छ जस्तो लाग्दैनथ्यो मलाई र हो पनि केहि कुरा असम्भव पनि भएन । नसोचेका धेरै कुरा प्राप्त गरेँ । साँचेका र सोचेका धेरै कुरा पाइएन र पनि खुशी रहेँ । धेरैको आश्चर्य र प्रश्न हुन्थ्यो तिमी यति धेरै खुशि कसरी हुन्छौ << मेरो सरल जवाफ किनभने मलाई दुखी हुन मन लाग्दैन ।  धेरै खुशि रहेँ जतिबेला म optimistic  थिएँ असम्भव जस्तो लाग्ने हरेक विषयलाई फरक ढंगबाट सोचेँ सम्भव बनाएँ यसको मतलब अहिले optimistic छैन भन्न खोजेको हैन । अहिलेपनि उत्तिकै optimistic छु तर अलि फरक ढंगमा । मैले आफ्नै लागि अलि धेरै space create गरेको छु जुन पहिले थिएन कुनैबेला आफुलाई भन्दा धेरै प्राथमिकतामा राखेँ आफु वरपरका व्यक्तिलाई, साथीभाईलाई, आत्मियजनलाई र आफैलाई कम प्राथमिकता दिइयो । "never give importance to anyone more that yourself because once that person becomes important you become nothing"    मलाई यो कोटेशन राम्रैसँग थाहा थियो र पनि खै कहिले ध्यान दिइएन वा दिनु आवश्यक ठानिएन । साँच्चै विस्तारै मैले आफुलाई आँफैबाट अलग्याउँदै लगेँ । म आफुलाई भन्दा बढी अरुलाईनै प्राथमिकतामा राख्न थालेँ र नभन्दै आफुबाट टाढिँदै गएँ । निकै गाह्रो हुँदो रहेछ छरीएको म लाई फेरी समेट्नु ।  समेटिएँ । कता कती अझै छरिएको हुँला विस्तारै समेटिनेछु । यति भइसक्दा पनि म अझै भन्दिन यो समयको खेल हो वा समयको माग हो समयको अरु केहि । यो सब मेरो रोजाई मेरो भोगाई । मेरो अपरिपक्वता, मेरो लहड ।  तर तत् क्षणमा जे गरेँ त्यो मेरा लागि सहि थियो । म खुशी थिएँ । मैले आफैलाई वाइपास गरेर अरुलाई प्राथमिकतामा राखेँ त्यो मेरो कमजोरी वा अपरिपक्वता हुन सक्छ गल्ति हुन सक्छ । जो मसँग टाढिए वा टाढिन खोजे वा जो मेरो आत्मियता वा मैले गर्न खोजेको आत्मियताको गलत व्याख्यासँग तर्सिएर टाढिन खोजे त्यसमा उनीहरुको केहि दोष छैन । 
आज म जे छु जस्तो हालतमा छु म नितान्त आफ्नै कारणले छु । कसैबाट म दुखेँ हुँला, मलाई कसैसंग रिस उठ्यो होला तर त्यसमा पनि म त उनीहरुको गल्ति देख्दिन । मैले त्यस्तो व्यक्तिलाई प्राथमिकतामा राखेँ जो कुनैपनि बेला मबाट टाढिन सक्ने ग्यारेण्टिका साथ उभिएका थिए । मैले त्यस्ता व्यक्तिलाई प्राथमिकतामा राखे जसले कुनैपनि बेला मलाई आफ्नो प्राथमिकताको सूचिबाट हटाउन सक्थे । हो गलत म हो जो जहिलेपनि अरुलाई खुशी भएको देखेर खुशी हुन खोजेँ जसले आफ्नो स्वतन्त्र खुशीको लागि केहि गर्न सकेन । र दुस्प्रयास गरेँ अत्मियताको गलत ब्याख्या गर्ने ।  तर अब अलिकति आफ्नै लागि बाँच्दैछु, अलिकति आफ्नैलागि नितान्त आफ्नै स्वार्थका लागि हाँस्दैछु । कसैसँग गुनासो छैन । म कसैसँग रिसाएकी छैन रिसाउँदिन पनि । मन हो कहिले काँहि दुख्छ । त्यो सम्हालिन नसक्नुको प्रतिफल भन्दा अरु केहि होइन । मैले जोजतिलाई आफुभन्दा माथि राखेँ उनीहरु सँधै म भन्दा माथिनै रहन्छन् । अर्थात् प्राथमिकता उस्तै छ । फरक यति हो यहाँनेर मैले आफैलाई पनि प्राथमिकतामा राख्न सिक्दैछु । म हुनुको अर्थलाई अर्थपूर्ण बनाउन खोज्दैछु । चरम आशावादी भएर होइन । वास्तविकताको धरातलमा उभिएर केवल आशावादी भएर ।

हस्ताक्षर : माया 


Tuesday, November 13, 2012

मेरो हारको पर्खाइमा छौ ?


तिमिसंग के जितेछु मैले
लेखाजोखा गर्दैछु
जितेको नै के थिएँ र  
सबथोक हारेकै त थिएँ 
तिमिलाई जिताउन हैन
आफु जित्न नसकेर 
हो त तिम्लाई जित्न कहाँ  सकेँ  र
तिमि हारेको असह्य हुन्थ्यो 
त्यसैले नी हारेँ  
अन्यथा नसोच
म हारीदिएको हैन 
तिम्लाई जिताएको मात्र 
कसम 
म भावनामा हारेँ  तिमिसंग 
विचारले त तिमी साधै महान 
मैलै जित्ने प्रयासनै गरिन  
अनि विश्वासमा हारेँ
प्यारो सपना पनि तिमिसंग हारेर सकें 
मेरो अमुल्य समय तिमीसँग हारें 
हार्न बाँकी केही छैन 
के हारौं अब !!!!

Saturday, September 29, 2012

सपना ; भुकम्प र भगनावशेष


शानदार अनि भव्य
सुन्दर, शान्त अनि कलात्मक
उसले निकै परिश्रम गरी बनाएको
एउटा सपनाको महल
सिंगमर्मर बिछ्याइएको चम्किला भुईँ
मुलायम रेशमी पर्दा टाँगीएका झ्यालहरु
आत्मियताको स्पर्श बोकी
निश्फिक्री आवत जावत गर्ने हावाका झोकाहरु 
वरपर बादलका टुकडीहरु
सूर्यमुखि र चन्द्रमुखि फूल्ने सुन्दर बगैँचा
आहा साँच्चै गजबको थियो
अहो ।।।
ड्याम्म ड्याम्म ।।।
एक पलमै झ्यालका सिसाहरु चकनाचुर
भुईहरु चर्किए
हावाका झोकाहरु झोक्किए
बादलु टुकडीहरु तहस नहस
उफ ।।।
कस्तो कहाली लाग्दो भुकम्प
सपनाको उसको महल क्षणभरमै ढल्यो
सब चकनाचुर भयो
ऊ प्रतिक्रिया विहिन
एकटकले भत्किएको महल हेर्दै चुपचाप चुपचाप
लामौ मौनता पछि
ऊ सदाबाहार मुस्कान सहित उठ्यो
सुस्केरा हाल्यो
चुम्बन गर्यो
अनि बोल्यो
"म सँग सिंगो महल छैन त के भो
सपनाका महलका टुक्राटाक्री त छन् नी अझै
म सँग मेरो सपनाको भगनावशेष छ "






Friday, July 27, 2012

भुगोल !!






राजमार्गमा भेटियौँ हामी 
राजमार्गमै छुटियौँ 
न म तिम्रो गन्तब्य थिएँ 
न तिमी मेरो 
हिँड्दा हिँड्दै भेटियौँ 
हिँड्दा हिँड्दै छुटियौँ 
त्यसपछि तिमी कता हरायौ
म कता हराएँ 
तर ढुक्क प्राय 
तिमी यहि भुगोल भित्र छौ 
म यहि भुगोल भित्र 
मलाई भिजाएको यो वषर्ात 
पक्कै तिम्लाई पनि भिजाउँदै होला 
स्स्स्स्स्स्स !!!!
चिसो बतासले भर्खरै मलाई र्स्पर्श गरेर भाग्यो 
सुनन तिम्लाई छोयो कि छोएन ?? 
त्यो जुनमा मैले देखेको प्रतिविम्ब सायद त्रि्रै हो 
र यो घाममा मेरो नजिक रहने छाँया पनि
अचेल खोज्न छोडेँ तिम्लाई 
त्यो अनन्त आकाश 
अनि यो सिमाहिन धर्तीमा 
सोचेँ हराएको पो कहिले थियौ र 
हो त हामी एउटै भुगोल भित्रै त छौँ !!!!

Friday, July 20, 2012

समय



(धेरै अघि उसलाई सुनेको थिएँ । सुनेर धेरैपछि उसलाई शब्दमा उतारेँ । कति सफल भएँ कति असफल थाहा छैन । उसको कथाको सार यहाँ कति समेट्न सकियो त्यो पनि थाहा छैन । तर उसलाई शब्दमा उतार्दै गर्दा धेरै ठाउँमा अल्भिmएँ, भक्कानिएँ र खुशि भएँ । )



कुनै बेला मलाई लाग्थ्यो उसका सामु आइपर्ने हर चुनौतिलाई ऊ आफ्नो सकारात्मक सोचको पाठ सिकाएर पठाउनेछ । हरेक चुनौति उसको त्यो आत्मविश्वास सामु निरिह सावित हुनेछन् । तर कहिलेकाहिँ डर पनि उत्तिकै लाग्थ्यो जीवन प्रति यति धेरै आशावादी हुनु पनि राम्रो हैन । कहिलेकाहिँ लाग्थ्यो यति धेरै आत्मविश्वास पनि राम्रो हैन । मलाई के थाहा उसको त्यो आत्मविश्वास त्यो सकारात्मक सोच यसरी टुक्रिन्छ भनेर । मलाई स्वीको समेत नदिई ऊ कतिखेर कमजोर भइसकेछ । मलाई कत्ति पनि विश्वास लागेको छैन ऊ त्यहि व्यक्ति हो जसलाई म चिन्थेँ । मलाई विश्वास छ ऊ जीवन प्रति अझै पनि उत्तिनै आशावादी छ जति ऊ पहिले थियो । कुनै बेला मलाई लाग्थ्यो यो संसारमा हारेर पनि खुशि हुन जान्ने व्यक्ति सायद उनै होला । उसले जितका लागि वा सफलताका लागि मरिहत्ते गरेको   

मलाई कहिल्यै थाहा छैन । त्यसो त ऊ अझै पनि जितका लागि मरिहत्ते गर्दैन तर आफैसँग भने कहिल्यै नहार्नु भन्ने उसको सिद्धान्त थियो । र म यो परिवेशको साक्षि हुनु परेको छ जतिबेला ऊ आफैलाई जित्न कठिन प्रयास गर्दैछ । आफैँसँग नहार्ने प्रयत्न गर्दैछ ।
 अरुसँग हार्नु वा जित्नुमा उसलाई खास चासो रहन्न । अक्सर असफलतालाई सहज आत्मसात गर्न सक्छ ऊ र असफलतालाई अवसरको रुपमा हेर्ने गर्छ , भन्छ  "never do worry dear there is always next time " सफलताकै लागि वा जितकै लागि भनेर उसले कहिले केहि गरेन बस हर काममा उसको मन लाग्नु पथ्र्यो मन रमाउनु पथ्र्यो उसको । मन लाग्छ गर हैन भने बेकार मनलाई भारी नबोकाउ । दुनियाँ मतलबि छ । समाज प्रतिस्पर्धि छ । एक कदम पछि परियो भने पछाडिबाट आउनेले धकेलेर लडाइदिन्छ, टेकेर हिँडिदिन्छ उसलाई राम्रो थाहा छ तर कहिले त्यो भिडसँग कुद्ने आवश्यकता महसुस गरेन । उसले आज सम्म जे गर्यो नितान्त आफ्नै लागी गर्यो । आफु खुशि हुनका लागि गर्यो तर कसैलाई हानी नपुर्याई । मन लागेको काम गरिहाल्नुपर्छ  । बस औपचारिकताका लागि गर्ने काममा मज्जा भएन भने गर्नुको कुनै अर्थ रहँदैन । अक्सर ऊ यसै भन्ने गथ्र्यो । तर उसको पछिल्लो भनाई त्यसको ठिक विपरित आयो "हर काम मन लागेर मात्र गरिन्न मन लागेका हरेक कुरा गर्न कहाँ पाइन्छ छ र -"  पछिल्ला केहिदिन मैले उसलाई विक्षिप्त अवस्थामा भेट्टाएको छु । धेरै प्रयासपछि उसले आफ्नो मुख खोल्यो र भन्यो "I want to cry LOUD"
"मलाई मन भरी रुन मन छ । सबै आँसु रित्तिने गरी डाँको छोडेर रुन मन छ ।" अनि साविक जस्तो फिस्स हाँस्यो । तर दुःख पर्दा आफ्नै आँसुले पनि साथ नदिँदोरहेछ । आँखामा टलपलाएको आँसु देखिएला भनेर टाउको घुमायो । आँसुलाई आँखाको डिल भन्दा बाहिर पोखाएन । घुटुक्क निल्यो अनि फेरी म तिर हर्दै सदावहार हाँसो हाँस्यो । म भित्र सम्म चिसिएँ । मन भित्र नरामाइलो चिसो भयो । म पनि चाहन्थे ऊ रोओस मनभरी रोओस......एक तमासको भएर बस्न थालेको छ ऊ......कहिलेकाँहि त असहृय हुन्छ मलाई ऊ भित्र कता कता गाँठो परेर बसिदिन्छ उसको सट्टा पनि म नै खुइय काटिदिम जस्तो लाग्छ ।"
"I hate silence" भन्ने ऊ हिजो आज मौनतालाई प्रेम गर्न थालेको छ । भित्र भित्रै मुर्मुरिरहेको हुन्छ । विना कारण कड्कीन्छ । अनि फेरी हाँस्छ । लौ बौलाएछ कि क्या हो - झस्किन्छु । हैन ठिक छ ।
ऊ दुःखेको छ । तर भन्दैन । किनकी उसलाई लाग्दो हो सब उसमाथि हाँस्नेछन् । उसको पछिल्ला व्यवहारहरुले हिजोको उसको व्यक्तित्वमाथि प्रश्नचिन्ह उठाउँदैछ । उ भित्रका optimist personality pessimist personality बीच कडा अन्तरद्धन्द चलीरहेको छ अचेल । त्यो अन्तरद्धन्दमा हमेसा optimist thinker ले बाजि मारेको हुन्छ यसमा म ढुक्क छु यदि pessimist personality हावि हुँदो हो त ......
भन्ने कुरा लागु गर्न गाहृो हुन्छ भन्थे साँच्चै हो रैछ । मैले अघि पनि भनेँ मलाई ऊ संसारकै सबैभन्दा खुशि व्यक्ति लाग्थ्यो । एक जना मित्रले उनलाई भनेका पनि थिए तिमी हरेक समस्यालाई सहजै कसरी पन्छाउन सक्छौ " उसको जवाफ थियो सबै समस्याको समाधान हुन्छ यदि समाधान गर्न सकिँदैन भने त्यो समस्या समस्यामा हैन तिमी आफुमा हुन्छ so take it easy think creatively" .....तर अहिले उसले आफैले लागु गर्न सकेको छैन । जुन कुरामा ऊ हमेसा सचेत रहृयो ऊ त्यँहि नेर चुक्यो । ऊ कतिबेला चिप्लियो पत्तै पाएन । हिँड्दा हिँड्दा धेरै पर पुग्यो । उसलाई थाहा थियो गन्तब्य त्यो हैन उसको...फर्किनुछ ...र उसलाई विश्वास थियो ऊ फर्किनेछ सहजै फर्किनेछ ।
"Be ready for any kind of consequences" भन्ने ऊ आफै धेरै कुराका लागि तयार नरहेछ । I was never ready for this consequence" उसले गला अवरुद्ध पार्दै भनेको वाक्य अझै कानमा गुन्जिरहेको छ । "मलाई थाहा थियो म फर्किनुपर्छ र म फर्कन तयार पनि थिएँ जसै मैले फर्किने तयारी गरेँ मैले realize गरेँ म धेरै टाढा पुगिसकेको रहेछु...." "अब मलाई फेरी पुरानै ठाउँमा पुग्नुछ ....... त्यहाँसम्म पुग्दा बाटोभरी बिछ्याउँदै गएका सब चिजहरुमाथि टेकेर फर्किनुछ । जाँदा फूल बिछ्याए जस्तो लागेको थियो तर अब फर्किँदा एक एक फूल एक एक काँडामा परिणत भएका छन् । म तिनमा टेकेर कसरी फर्किन सक्छु - चाहन्थेँ म खुशी खुशी फर्किउँ । मलाई कत्ति पिडा हुनेछैन । तर मलाई थाहै नदिई मन दुखिसकेको रहेछ । मलाई के थाहा मेरो आफ्नै मनले म माथि यत्रो विश्वासघात गर्नेछ । बाटो बिराइसकेछ मैले सम्हाल्न सम्म पाइन । दुख्दिन भनेकै थियो । फेरी किन दुख्यो -- वाचा गरेको थियो मसँग विराउँदिन बाटो भनेर फेरी......! अब जब फर्किने बेला आयो किन दुःख दिइरहेको छ -- के यो मेरो आफ्नो मन हैन -- बैगुनी रैछ यो पनि ...म सोच्थेँ मेरा सामु आउने जस्तो सुकै परिस्थितिको सामना गर्न म हमेसा तयार छु । तर मेरो यहि विचारले अहिले म आफैलाई चुनौति दिइरहेको छ । किन सोच्थेँ म त्यो सब । म के कुनै अर्को ग्रहको मान्छे थिएँ र - हाँसो लाग्न थालेको छ मलाई मेरो आफ्नै stupid thoughts देखि ...." म अवाक भएर उसलाई सुनिरहेँ । धेरै दिनपछि ऊ छताछुल्ल भइरहेको थियो ।

लामो सास फेर्यो अनि भन्यो "I'm ok…. m fine" अब म ति सब कुरा बिरसेर अघि बढ्छु मलाई कसैसँग कुनै गुनासो छैन । मैले जे गरेँ त्यो तत् क्षणका लागि राम्रो थियो । म रमाएको थिएँ मन रमाएको थियो । अलिकति गुनासो म आफैसँग छ । म भित्र त्यति धेरै positive attitude  किन जन्माएँ -- तर मलाई कुनै पनि कुराको पश्चाताप  छैन । बस यत्ति हो फर्किँदा लागेको चोटले मलाई मेरो सुदुर भविष्य सम्म पनि झस्काइरहनेछ । I am managing to be happy J ....ऊ बोल्न छोडेको धेरै बेर सम्म पनि म उसलाई सुनिरहेँ...उसको मौनतालाई.....प्रतिक्रिया  विहिन भएर......


...............
थाहा छैन उसले आफ्नो सुदुर भविष्य सम्म त्यो चोट बोकिरहन्छ वा विगतलाई विदाई गर्छ अनि नयाँ सुरुवात गर्छ । हुन सक्छ ऊ यी कुरा सम्झेर भोली एकान्तमा हाँस्नेछ वा रुनेछ ....मिठो भूल सम्भिmनेछ वा रमाइलो बदमासी सम्भिmनेछ....म उसलाई विगत बिर्स भन्ने सुझाव पनि दिन्न किनकी सकिन्न त्यसो गर्न । हामी हाम्रो विगतलाई नचाहेर पनि सँगै बोकेर हिँडछौँ र कहिलेकाँहि nostalgic हुन मन पराउँछौँ । समयले उसलाई यस्तो मोडमा पुर्याओस जहाँ पुगेर ऊ निकै खुशि हुनेछ र उसभित्रको त्यो पूरानो पात्र जीवन्त हुनेछ । बाँकी दुनियालाई नेपथ्यमा छोडेर फेरी ऊ आफ्नै पागलपनमा रामाउँछ । फेरी एकपटक उसले आफैलाई प्रेम गर्न थाल्नेछ र जित्नेछ आफैलाई, आफ्नो विश्वासलाई ........शुभकामना J














Friday, July 6, 2012

र म कवि भइन !!


र म कवि भइन
ती शिरिषका फूल देख्दा
ती बादलका टुक्रा देख्दा
खोल्सामा बगेको पानी देख्दा
रिमझिम वर्षातमा
टट्यानपुर घाममा
डाँडा पाखा र हरियालीमा
कवि भइ उठ्ने मन
एका एक शिथिल शिथिल
अब शिरिष फूल्दैनन्
वर्षातले पोल्छ
खोल्सामा कमिलाका लस्करहरु गिज्याउँछन्
छ्या कति चिसो घाम



                                                                        उफ ।।
            सोचेको थेँ
            भावनाका लहराहरु पर परसम्म पुर्याउने
            सपनाका वृक्षहरु उमार्ने
            संसारभरका शब्दका ठेलीहरुबाट
            सुन्दर सुन्दर शब्द छानी
            तीनै शब्दको बडेमानको पहाड बनाउनेछु
            र त्यहिँ माथि विश्रामस्थल
            अहो ।
            कति सजिलै सबै उन्मादहरुले विश्राम लिए
           मरुभूमिमा सपना फूल्दैनन्
          अब सबै शब्दका ठेलीहरु बन्द गरेँ
          भो छान्दिन
          चाहिएन सुन्दर शब्द
                                                                   मलाई कवि बन्नु छैन



Saturday, June 23, 2012

अनुत्तरित


विजुलीको तारमा उल्टो झुण्डिएका अपसगुनी चमेरोका लस्कर जस्ता प्रश्नका लस्करहरु ः ऊ हरेक पल्ट जवाफविहिन हुन्छ । र पनि आफैले आफैलाई प्रश्न गर्न छोड्दैन । दोहोर्याउँछ । तेहेर्याउँछ कति कति पल्ट । तर जवाफ भेटे पो । कालिदासको क जस्तो औसत भन्दा ज्यादै ठूलो विश्मयादिबोधक चिन्ह । फनफनी घुमिरहन्छ । 

यहाँदेखि त्यहाँसम्म र त्यहाँदेखि यहाँसम्म चुरोटबाट उडेको धुवाँजस्तो कतै बादलमा गएर मिसिए त हुन्थ्यो नी , उड्दा उड्दै कतै विलाए त हुन्थ्यो नी .....त्यहि धुवाँको कस भित्र फोक्सोमा जमे जस्तो .....खै... ऊ हराउँछ कता कता ।। एकान्तदेखि डराउँछ अचेल ऊ । भन्छ त्यो घना जंगल हो , हराउँछ र बाहिर निस्कन मुस्किल पर्छ उसलाई । हो पनि धेरैपल्ट उसलाई खोज्दा खोज्दा आजित भएको छु म । निकै धेरैबेर पछि ऊ फर्किन्छ गहिरो निन्द्राबाट ब्युँझिए जस्तो गरी । अनि फिस्स हाँस्छ । बाँदरले घरी घरी घाउ कोट्याए जस्तै ऊ घरी घरी त्यसै गर्छ । हिजो आज बाँदर भएको छ ऊ । 

हिड्दा हिड्दै छिनेको चप्पलको लोता भए पो फर्ेन मिल्थ्यो वा फ्याक्न सकिन्थ्यो । बलेँसी पनि पानी परुन्जेल मात्र र्झछ पानी पर्न रोकिएपछि बलेसी पनि रहन्न । तलाउमा ढुंगा हान्दा त्यसको तरंग केहि समय मात्र रहन्छ सँधैका लागि रहिरहँदैन । ऊ फिरन्ते हुँदो हो पनि एक ठाउँमा दिक्क लागेपछि अर्को ठाउँमा सथ्र्यो होला खुशी खुशी । तर न त त्यो चुरोटबाट निस्किएको धुवाँ हो गोल गोल भएर उड्दै आकाशमा विलाउने न त चप्पलको चुँढिएको लोता नै । अँ चुरोटको धुँवा सँग चाहि तुलना गर्न सकिएला । धुँवा बादलमा गएर मिसिन्छ रे भन्छन् । बादल हेर्दा कोहि कोहि बेला त्यहि धुवाँको तर्कना हुन्छ अनि के चाहियो र फेरी डोर्याइहाल्छ नी त्यसले उहि जंगल तिर । त्यो बलेसीको पानी पनि होइन रहेछ पानी पर्न छोडेपछि सुकिजान,े न त तलाउको तरंग । अब त्यो धुवाँको कसनै बनेर रहला सायद विस्तारै फोक्सोमा थुप्रिदै जान्छ । परिणाम के होला अर्का ठूलो प्रश्न । औसत भन्दा ज्यादै ठूलो । जवाफ खोज्ने -- खै .....हराएको माल पो खोज्दा भेटिन्छ । जुन कुरा छँदै छैन कहाँ खोज्ने -- 

Thursday, June 14, 2012

किनारमा उभिएको मान्छे

सेती नदिको किनारमा उभिएको एउटा मान्छे धेरैबेर देखि म उसलाई नियालीरहेको छु । ऊ घरी घरी नदीको पानी अन्जुली भरी बोकेर फेरी किनारतिर फर्किन्छ । किनार पुगेर हेर्दा अन्जुली रित्तिसकेको हुन्छ । ऊ एकछिन गम खान्छ । खै के सोच्दो हो दैब जानुन । ऊ केहिबेर उभिन्छ किनारमै र फेरी नदीमा पस्छ र अन्जुली भरी पानी बोकेर फर्किन्छ । उसले यो क्रम धेरै बेर दोहोर्याइरह्यो । अनौठो लगाब देखेँ मैले नदीको पानी प्रति उसको । तर उसको अन्जुलीमा पानी अडिएन । मात्र अन्जुुली भिज्यो । भिजेको अन्जुली हेरेर ऊ पुनः गम खान्छ । ऊ एकछिन हरायो । खै कता पो गयो अनी एउटा भाँडो लिएर फर्कियो । अब भने ऊ लगभग निश्चिन्त थियो पानी ऊ सँग हुनेछ । र ऊ नदीमा पसेर पानी लिएर किनार फर्कियो । दंग पर्यो भाडाँमा भरी पानी देखेर । ऊ पानी खेलाउँदै बस्यो । मलाई पनी कता कता खुशी लाग्यो । अन्ततः उसले आफ्नो मनचाह नदीको पानी आफुसँगै पायो । तर मान्छे कति असन्तुष्ट प्राणी हो भन्ने कुरा एक छिनपछि उसको क्रियाकलापले प्रष्ट पार्यो । उसलाई आफुसँग भएको पानीले चित्त बुझेन र फेरी नदि तिरै टोलाउन थाल्यो । प्रष्ट थियो । ऊ फेरी नदी तिर हान्नियो र अन्जुलीमा पानी लियो । यतिन्जेल त मलाई पनि अब उसप्रति हैन नदीप्रति नै माया लाग्न थालिसकेको थियो । पानी अन्जुलीमा हैन नदीमै रमाउँछ । उसलाई स्वतन्त्र ढंगमा बग्न दिएकै राम्रो नकि अन्जुलीमा कैद गर्नु । अन्जुलीमा कैद गर्न खोज्दा पानीले विद्रोह गर्यो र ऊ विलिन भयो । नदिमै पनि बाँध लगायो भने नदी उर्लिन्छ । उसलाई बग्न दिनुपर्छ । ऊ आफ्नो आकार बनाउँदै बग्छ । मलाई त्यो किनारको मान्छे प्रति भने दया लाग्यो । कस्तो प्रेम थियो उसको नदी र नदीको पानी प्रति तर पानी उसको हुन सकेन । केवल अन्जुली भिजाएर हरायो पानी । ऊ धेरैबेर अन्जुली हेर्दै बस्यो । त्यतिन्जेलअन्जुली पनि सुकिसेकेको थियो । यो पानीको जातै उस्तो ।

Monday, April 30, 2012

"मेरो नाम .कार्टुन"

"भाई तिम्रो नाम के हो ?" "मेरो नाम ??" "मेरो नाम अ...कार्टुन ।" मैले नाम सोध्दा उसले टाउकोमा फोहोर फालेपछि रित्तिएको कार्टुन हालेको थियो । त्यसैले होला उसले आफ्नो नाम नै कार्टुन भनेको । जवाफमा म हाँसे । सँगैका केहि साथीहरु पनि । छेउको अर्को कुर्सीमा बसेका व्यक्तिले उसको असली नामले बोलाएथे । उसको नाम के थ्यो बिर्सेँ । सोधिन पनि फेरी । लाग्यो उसलाइ आफ्नो नामनै भन्न मन छैन भने किन कर गर्नु । एक छिनपछि फेरी सोधेँ । "भाइ कति वर्ष भयौ ?" "म ?? १६ वर्ष ।"
नाम भन्दा छिटो उमेर भन्यो उसले । कस्तो हावा होला नाम सोध्दा नभन्ने उमेर भने हतार हतार भन्छ भाई त के हो । ऊ १६ वर्ष पुगेको धेरै भयो रे । खै २। ४ वर्ष अघिदेखि ऊ १६ वर्ष नै छ रे । तर मान्छे हेर्दा भने मुस्किलले १३ । १४ वर्ष होला । हिजो आज विहान दैनिक जसो एक घण्टाको समय अनामनगरको दहालको दैलोमा बित्छ । विहान एक घण्टा म्याकुअल अंकललाई भेटेपछि दहालको दैलोमा चिया गफ हुन्छ । बसाई रमाइलै हुन्छ । त्यसैले बसिन्छ । पढाईका कुरा, राजनीतिक गफगाफ, समय सान्दर्भिक विषय वस्तु, एक अर्कालाई सकुन्जेल भित्तामा पुग्ने गरी मौखिक दनक दियो यसै रमाइलो । अरु केहि नभएपनि सेन्स अफ ह्युमर भने राम्रै बढेको मानेको छु मैले । दहालको दैलोमा काम गर्ने सानो भाई उसैले दिएको नाम अनुसार कार्टुन यता उता दौडिन्छ चिया बोकेर । उसले ग्राहकसँग गरेको व्यवहार, बोलीचाली सब रमाइलो लाग्छ मलाई । साथीहरुसँगको गफगाफका अलावा उसको चर्तिकला हेर्न पनि मजा लाग्न थालेको छ अचेल । साहुजी सँग रिस उठेको बेला उ ग्राहकसँग पनि रिसाइदिन्छ । उसको के जान्छ र । ग्राहकले अली होच्याएको वा हेपेको थाहा पाए ऊ ठूलो पल्टिदिन्छ । उसको त्यो attitude पनि गजव लाग्छ मलाई । अंग्रजीमा एउटा उखान छ नी teet for tat । हो ऊ त्यस्तै गरिदिन्छ जस्तालाई त्यस्तै । उसकोमा पुग्ने नियमित ग्राहकसँग ऊ उस्तै प्रकारले प्रस्तुत भइदिन्छ । सुने अनुसार उसले त्यो पसलमा काम गर्न थालेको निकै वर्ष भयो रे । निकै भनेको कति होला । भन्नलाई १६ वर्ष भनेनी ऊ १६ वर्ष भन्ने कुरा त ज्यान गए पत्याउन सक्दिन म । सानै उमेरमा काम गर्न थालेको भएर पनि उसको शैलि फरक छ । निकै प्रोफेस्नल ढंगमा ग्राहकसँग डिल गर्छ । ऊ स्कुल जाँदैन । कुनैदिन गएको थियो होला सायद वा थिएन । सोधेको छैन । सोध्दिन पनि होला । पछिल्लो पटक हिन्दि फिल्म आइ एम कलाम हेरेपछि झन उसका कृयाकलापले मलाई आकर्षित गर्न थालेको छ । उक्त फिल्ममा पनि लगभग उसकै उमेरको केटा छ । छोटु नाम गरेको ऊ राष्ट्रपति अब्दुल कलामको जीवनीबाट प्रभावित हुन्छ र आफ्नो नाम पनि कलाम राख्छ । पढेर कलाम जस्तै ठूलो मान्छे बन्ने दृढ इच्छाशक्ति पालेका कलाम उर्फ छोटुले पनि आफुले काम गर्ने दोकानमा ग्राहक आकर्षित गर्न अनेक तिकडम अपनाउँछन् । सपना देख्नुपर्छ भन्ने कलाम भाग्यमा हैन कर्ममा विश्वास गर्ने हुन्छन् र उसको कर्मले उसलाई स्कुलसम्म पुर्याउँछ । छोटु र कार्टुनबीच धेरै असमानता होलान् तर पनि कार्टुनलाई देख्दा कलाम सम्झन्छु । यी दुईबीचको समानता पहिल्याउन खोज्छु । अहिलेसम्म मैले भेटेको समानता दुवै साना छन् र परिस्थितिले सायद दुवैलाई उस्तै कामका लागि परिवारबाट टाढा पुर्याएको छ । बाँकी यी दुईबीच अरु खास समानता छन् वा छैनन् खोजेको छैन । छोटुमा जस्तो पढ्ने र पढेर ठूलो मान्छे हुने दृढ इच्छाशक्ति "कार्टुन"मा होला ? उसको सपना कस्तो होला ? आफु भन्दा सानी साहुकी छोरी स्कुल गएको देख्दा उसमा पनि स्कुल जाने रहर चढ्ला कि नचढ्ला । हरेक दिन ग्राहकलाई चिया नास्ता पुर्याएर सुरु हुने र अन्त्य हुने उसको जीवनले कस्तो मोड लेला ?? वा दहालको दैलोमा ग्राहक सँगै डिल गर्दै ऊ "ठूलो मान्छे" हुनेछ आफ्नो ठाउँमा । धेरै प्रश्न अनुत्तरित छन् । यसको जवाफ खोज्दीन म । खोज्नु आवश्यक पनि छैन । किनकी हरेक दिन म विहान कामका सिलसिलामा शहर पस्दा "कार्टुन" र "छोटु" जस्ता धेरै बालबबालीका देख्छु जस्को अवस्था उनीहरुको भन्दा पनि गयगुज्रेको छ । कम्तिमा उसले सडकमा अरुको अगाडि हात फैलाउनुपरको छैन । कम्तिमा उसले बाटो हिँड्ने कथित ठूलाबडा भनौदाहरुको तितो बचन सुन्नु परेको छैन । स्कुल जान पाएन त के भो । उसले जीवन बुझ्न पाएको छ । संघर्ष बुझ्न पाएको छ । आफ्नै जीवनो पाठशालामा उसले स्कुलमा भन्दा थुप्रो ज्ञान बटुलेको होला सायद । उसले दिएको चिया मात्र पिउँदा पनि उसँगको आत्मियता राम्रै बढेछ कि कुन्नी भलै मेरो उसँग दोहोरो कुरा हुँदैन उसलाई अरुले तँ भनेर सम्बोधन गरेको भने पटक्कै मन पर्न छोडेको छ । बोलाउनेले तिमी भन्दिए हुने नी भन्ने लाग्छ । तर केहि भन्दिन । कुनै दिन उसले आफैले भन्ला नी दाई/ दिदी मलाई तँ भनेर नबोलाउनुस है ।

Wednesday, April 18, 2012

माइक्रो माग

"आमा है नी मामाघरको बैनीको कस्तो नाम्रो फरक छ फुर्र परेको क्या । कस्तो राम्रो छ अनी कस्तो मज्जाले घुम्छ भन्या । हे..हे..हे.."
"हैनी आमा मलाई नी त्यस्तै फरक है आमा । भोलीनै सिलाइदिनु न क्या । आमा कस्तो हुनुहुन्छ भन्या तपाई अरुको लुगा भने भन्नी वित्तिकै सिलाइदिने मलाई चाहिँ सिलाइनै दिनुहुन्न । है आमा मलाई नी फरक फुर्र परेको ।"
कलंकीबाट बाल्कोट चल्ने माइक्रोमा आज (२०६९। १। ६ गते ) साँझ एउटी सानी नानीले आफ्नी हजुरआमासँग गरेको गुनासो हो यो ।
अक्सर साँझ अफिसबाट फर्किँदा म चढ्ने माइक्रोमा अनेकथरीका सम्वाद सुन्न पाइन्छ । कति चाखलाग्दा हुन्छन् कति दिक्क लाग्दा । के गर्नु सार्वजनिक यातायातमा आफुले भने जस्तो नहुने, गफ गर्नेलाई नगर भन्नुनी नहुने नत्र तिम्रा बाको गाडी हो र भनी हाल्छन् । त्यैभएर खासै वास्ता गरिन्नन् "माइक्रो सम्वाद"हरुलाई । आज भने त्यो तोते बोलीमा पोखिएको गुनासो निकै चाख मानेर सुनियो । करिब ५ वर्षकी नानीका अघिल्ला वाक्यमा खासै ध्यान दिएकी थिइन मैले । गाडि निकै भिड थियो त्यसैले पनि सकेसम्म आफुलाई सहज बनाउने ध्याउन्नमा मात्र थिएँ म । तर जब उनको पछिल्लो वाक्य सुने त्यसपछि अनायास हाँसो फुत्किएको पत्तै भएन । सानो मान्छेको कत्रो गुनासो भन्ने जस्तो लागयो । अनि पूरानो उखान सम्झिएँ "डकर्मिको घर भत्किएको हुन्छ , सिकर्मीको घरमा भर्याङ भाँच्चिएको हुन्छ" । खासमा म गाडिमा चढेपछि उनले आफ्नी हजुरआमा समक्ष राखेको यो तेस्रो माग थियो । खै म चढ्नुअघि अरु कति माग राखिसकेकी थिइन् । उनका अघिल्ला दुई माग भने पप र चप्पलको थियो । कोटेश्वर तिर पुग्दा उनको तोतेबोली सुन्न थालेको थिएँ । म भन्दा ठ्याक्कै अगाडिको सिटमा हजुरआमाको काखमा बसेकी उनले आमालाई कोट्याउँदै भनेकी थिइन् "आमा भोली विहान म चियासँग पप खान्छु है । मलाई भोलीदेखि सँधै चिया र पप दिनुस है आमा ।" आमा नबोलेपछि फेरी उनले कोट्याउँदै आमालाई आफ्नो प्रस्ताव स्वीकार्न वाध्य बनाईन "आमा हुन्छ भन्नुसन । कस्तो होला आमा त हुन्छ नै भन्नु हुन्न ।" अनि आमाले हाँस्दै हुन्छ भन्नुभयो । अनि कौशल्टार नपुग्दै थपियो दोस्रो माग चप्पलको । गाडि बाल्कोट छिराउने मोडमा रहेको चप्पल पसल देखेर हुनुपर्छ उनले त्यो माग अघिन सारेको । "आमा मलाई पनि चप्पल किन्दिनुस है । घर बस्ने चप्पल क्या आमा । मलाई घर बस्न चप्पल नै छैन ।" यो मागमा आमा हाँस्नुभयो मात्र । र तेस्रो माग फ्रकको उनको घर पुग्नु भन्दा अलि अगाडि राखिन् उनले । यसमा आमाको प्रतिक्रियाको त्यति ख्याल गरिएन । केहि नभएनी आमाले पनि मैले सम्झेको उखान पक्कै सम्झिनुभयो होला । झर्ने बेला सम्म पनि नानी आमालाई अरु केके भन्दैथिइन् । चटपटे बोलीमा । म भने सोच्दै थिएँ आज तोते बोली छ भोली यी आवाज चर्को हुँदै जानेछन् अनी मागहरु पनि । के हजुरआमाले सँधै यसैगरी सहज ढंगमा हाँसेर माग पूरा गर्दिन्छु भन्नुहोला ।।।।

Sunday, March 4, 2012

सरकार !!

सरकार ढल्यो
सुन्यौ उसको मुलुकको सरकार ढल्यो
हिजै मात्र हो की कसो
ऊ निकै पुलकित थियो
नयाँ सरकारको खुब तारिफ गर्दै थियो
मेरो सरकार यस्तो
मेरो सरकार उस्तो
खुचिङ्ग खायो !!
आज ढली छाड्यो
शहरमा संकटकाल लागेको छ रे
जताततै तनाव छ रे
राजमार्गहरु बन्द छन् रे
सहायकमार्गहरु त नखुलेको जुगै भैसक्यो
कारखानाहरु बन्द छन्
हिजो आज उत्पादन केहि हुन छाड्यो
बजार सुन्य छ
तत्काल नयाँ सरकार बन्ने सम्भावना छैन
अहँ पटक्कै छैन
सब तछाड मछाड गर्छन
संक्रमणकालको फाइदा उठाउन
संवादहिनताको अवस्था
त्यसैले सहमतिको सम्भावना न्युन
कामचलाउन नसक्ने
कामचलाउ सरकार
यस्तोमा बाह्य हस्तक्षेपको सम्भावना धेरै हुन्छ रे
प्रतिक्रियावादीहरु सल्बलाउँछन् रे
विस्तारवादीहरु मौलाउँछन् रे
यथास्थितिवादीहरु जुर्मुराउँछन् रे
दुर दराजको एक गाउँमा
मसाल जल्न थालेको देखेँ
नयाँ सरकार तत्काल देउ
तर त्यसले शहरलाई पोल्दैन
यस्तै रहन्छ अब केहि समय
ढलेको सरकार उठ्दैन
हो सरकार ढल्यो
उसको मनको सरकार
उसको सपनाको सरकार
बन्द सपनाका कारखानाहरु
बन्द सपनाका राजमार्गहरु
सपनाका मनमैजि सरकार
सपनाका मनमौजि शहर ।।।।।