Thursday, December 5, 2013

अलिकति ढंग किन्न काँ पाइन्छ ?

 विहान साढे ५ बजे अफिस पुग्नुपर्ने । अलार्म बजिदेन हिजो ढिलो पुगियो । ठ्याक्कै समाचार पढ्न पुगियो धन्न । आज भने त्यस्तो नहोस भनेर हिजो राती सुत्दै अलार्म चेक रिचेक गरियो र सुतियो । विहान टाइममा अलार्म त बज्यो तर स्नुज गर्दा गर्दा फेरी ढिलो ढिलो भयो । हतार हतार उठेर अफिसको लागि तयार भइयो । आफु मात्र उठेर नपुग्ने घरको ढोकाबाट स्कुटर निकाल्ने हुत्ति अझै जम्मा भैसक्या छैन । दाईलाई उठाएर स्कुटर निकाल्न लगाइयो । दाई भाउजु दुबै आज चितवन जाने भनेपछि हिजैबाट टेन्सन लागिसक्या थ्यो । यै सोच्दै थेँ भोली कस्ले निकाल्देला । सेल्फ सटार्ट नभएपछि किक हानियो । विहानै एक राउण्ड दुःख दिन्छ स्कुटरले । खाउँ भने दिनभरीको शिकार नखाम भने कुन्नि कस्को अनुहार भनेझैँ झोक चलाउँछ । बल्ल बल्ल स्कुटर स्टार्ट गरेर यसो टर्न गरेर बाटोतिर लगेको मात्र थिएँ ढुंगाको छेउतिर परेर राम्रैसंग लडियो । एउटा घुंडा नालिमा एउटा घुंडा बाटोमा पर्यो । हातले नी राम्रैंसंग बाटोमा टेक्नुभयो । जर्याक जुरुक उठेर स्कुटर उठाउन खोजेँ के सक्नु । मर्निंग वाक हिनेका छिमेकीले उठाइदिनुभो । हिजो मात्र भेटेको मान्छेले अब  त लडिन्न नी भनेर सोध्या थिए । उनैलाई सम्झिएँ । यी लडि त हालेँ कोटा पुग्यो भन्ने लाग्यो र फेरी किक हान्न थालेँ । मरे स्टार्ट भएपो । दाईले आएर स्टार्ट गर्दिए । धन्न यी दाजु छन् र म अपिस जान पाउँछु बेलैमा भन्ने लाग्यो मनमनै । पर पुग्दा बाइक सर्भिसिंगमा छोड कि के भने जस्तो लाग्थ्यो आफुलाई झोक चलिरकै भएर वास्ता नगरी कुदाइयो । अलि पर पुग्दा टाउको चिसो भो अनि था पाएँ ए हेल्मेट डिकिमै छ । फेरी रोकिवरी हेल्मेट लगाएर बाटो लागियो । अफिस पुग्दा ६ बज्न १० मिनेट बाँकी थियो । पुग्ने समय साढे ५ । मुड ब्यानैदेखि अफ भयो । अन्तराष्ट्रिय समाचार बनाइयो आज समाचार पढ्ने पालो मेरो नभैदिए हुन्थ्यो भन्ने कामना गर्दै लिष्ट हेरिएन । धन्न पालो मेरो रैनछ । घरदखि कौशल्टारसम्मको बाटोमा लड्न बाँकी यहि ठाउँ थियो होला त्यो पनि भ्याइयो आज । घर फर्किँदा यसो लडेको ठाउँमा हेरँे रिस उठ्यो । लडेको ठाउँले नी मलाई हेरेर "के घुर्या नी आफ्नो ढंग छैन" भने जस्तो लाग्यो । "हो हजुर ढंग मेरै छैन" भन्दै आगनमा स्कुटर राखियो । 
खुइयय !! यो आजको कहानी । 

स्कुटर चढेर अपिस जाने सानैदेखिको रहरबारे स्कुटर महिमामा लेखेको थिएँ । रहर पुरा भो तर के नमिल्या नमिल्या सद्धे किन्या स्कुटर साँच्चै भोगटेको रुखमा फलेर कुहिन लागेको जस्तो भैसक्यो । कति सराप्दो होला त्यसले मलाई, कति लडाउँछे भनेर । तर के गर्नु लडि त हाल्छु । कैले पार्क गर्दा, कैले टर्न गर्दा, कैले स्ट्याण्ड लगाउँदा, कैले स्टार्ट गर्दा, कैले ओरालो झर्दा, कैले ट्रकलाई साइड दिँदा, कैले मान्छेलाई साइड दिँदा । 
मान्छे भन्ने वित्तिकै याद आयो । मंगलबजार बिहानैबाट व्यस्त हुने ठाउँ । सेप्टेम्बरको महिना अफिस जाँदै थिएँ साँघुरो बाटोमा अगाडिबाट मिनिट्रक आयो । एकछिन रोकेँ ट्रक पास हुन दिएँ र अगाडि जानलाई एक्सेलेरेटर दबाको मात्र थिएँ अगाडि मान्छे हानियो । उनीनी लडे म नि लडेँ । मुटु घाँटिमा आयो । धन्न निस्केन । मर्निंग वाक हिनेको मान्छेलाई स्कुटरले पछाडिबाट ढ्यास्स हान्छ भन्ने तिनलाई के था । मुर्मुरिए मैले गालि खाएँ । अस्पताल जाम भन्न थाले । खै अनुहार देखेर टिठ लाग्यो कि मलाई जान दिए । त्यसको दुईदिनअघि चाकुपाटमा लडेर दुखेको खुट्टा निको भाको थिएन त्यसमाथि अर्को चोट थपियो । सेप्टेम्बर ९ मा कार्यक्रम थियो । आफ्नै माया लाग्यो त्यसपछि झण्डै १५ दिन स्कुटर चलाइएन । 
अक्सर हर्न बजाउन मन लाग्दैन । पैला आफु पैदल हिँड्दा पछाडिबाट हर्न बजाको सुन्यो कि इरिटेट हुन्थेँ त्यै भएर सकेसम्म हर्न नबजाई चलाउन पाए हुन्थ्यो झैँ लाग्छ । बरु मान्छेको पछि पछि घिस्रियो हर्न नबजाउने खराब बानी होला मेरो । ४० भन्दा स्पिड कुदायो कि उडिन्छ झैँ लाग्छ । कसैलाई ओभरटेक गर्नु, कतै छिटो पुग्नु, स्टाइलमा चलाउनु क्यै पर्दैन । समयमा ठाउँमा पुग्न पाए हुन्छ भन्ने जसरी चलाइन्छ र पनि थाहै नपाई लडिन्छ त यसमा मेरो के गल्ति । सानोमा लडियो कि अब ठूलो हुन्छस भन्नुहुन्थ्यो आमाले अब त लड्यो कि ढंग छैन भन्नुहुन्छ । स्कुटरसँगै ढंग पनि बेच्नुपर्ने हो के बेच्नेले नी । 

Wednesday, September 18, 2013

SUICIDE नोट !!!!!


जीवनको यो मोडमा आएर यस्तो निर्णय गर्छु भन्ने कहिले सोचेको थिइन अहँ कहिले पनि  । फेरी म जस्तो मान्छे जसलाई सुसाइड गर्नु कायरता लाग्छ । मैले कहिले सोचेको थिइन कि म आफै त्यो विन्दुमा पुग्छु जहाँ जीवन अन्त्य गर्न वाध्य हुन्छु । हो म जस्तो खुशी मान्छे हरपल सकारात्मक सोच राख्ने मान्छे अनि अरुलाई जीवनका रमाइला पाटाहरु देखाउने मान्छेले कसरी सुसाइड गर्न सक्छ ? अचम्म लाग्न सक्छ । सबैलाई । यो निर्णय गर्दै गर्दा मलाई पनि अचम्म लाग्यो । म कसरी यो निर्णयमा पुगेँ । के मैले यो काम गर्नुहुन्छ ? कस्तो प्रभाव पर्ला मेरो परिवारमा, साथीभाइमा अनि मैले जीवनोपयोगी सिप सिकाएका ती मेरा प्यारा भाइबहिनीहरुमा । उनीहरुले मैले सिकाएका सब कुरा मिथ्या हुन भन्ठान्लान् । मलाई खुशी देख्नेहरु अनि मेरो हाँसो देखेरै खुशी हुनेहरुले मेरो खुशी र हाँसोलाई पनि देखावटी भन्दा होलान् । तर मलाई बाल । कसैको सोचाईको परिधिलाई म बाँधेर राख्न सक्दिन । जसले जे सोचोस । अब मैले निर्णय गरिसकेँ । मेरो यात्रा अब यहिँ सम्म हो । मात्र यहिँ सम्म । 
अँ साँच्ची म किन यो निर्णयमा पुगेँ ?? मलाई जीवनमा कहिल्यै सफलताको हुटहुटी जागेन । कहिल्यै सफल हुन मरिहत्ते गरिन । कुनैपनि कुराको लागि संघर्ष गर्नुपरेन । सानोमा बुवा आमाले भनेको पुर्याइदिइरहनु भयो । ठूलो भएपनि आफ्ना आवश्यकता आफै पूरा गर्न सक्ने भएँ । अलि अलि नाम कमाउन पाए हुन्थ्यो भन्ने सानैदखि लाग्थ्यो । त्यो सकेँ सकिन थाहा छैन । तर अब मलाई त्यो पनि चाहिँदैन । औँलामा गन्न सकिने जति मान्छेले भएनी मलाई चिन्छन् होला भन्ने लाग्छ । यो भन्दा धेरै कहिले खोजीन । जति पाएको छु त्यसमा सन्तुष्ट छु । डिग्रि सक्दैछु । यतिसम्म पढ्ने इच्छा नी थिएन । र पनि पढियो । चाहिएजति पढेँ भन्ने लाग्छ । आफु वरपरका कसैको चित्त दुखाएको छैन । सबैलाई सकेसम्म खुशि पारेको छु । 
अँ त फेरी कुरा मोडियो । म किन सुसाइडको निर्णयमा पुगेँ होला भन्ने जान्न मन छ ? धेरै नसोचेको जवाफ हुन सक्छ । हो म धेरै सकारात्मक भएँ । म असफल भएर वा जीवनदेखि विरक्तिएर वा प्रेममा धोका पाएर, वा आफुले चाहेको कुरा पाउन नसकेर यो निर्णयमा पक्कै पुगिन । म चाहन्न म बाँचीरहँु । मलाई बाँच्न पुग्यो अब । मलाई डर लाग्यो म बाँचीरहे म यसैगरी जीवनभर खुशी रहन नसकुँला । मलाई दुखी हुन मन पर्दैन । के थाहा भोलीको दिनमा दुखी हुनुपर्यो भने म कसरी सम्हालौँला आफैलाई । यहि सोचेर बेला बेला आत्तिन्छु । म खुशी रहेरै मृत्यु वरण गर्न चाहन्छु । म चाहन्छु चितामा जलिरहेको मेरो मृत शरिरका अवयवहरु पनि हाँसीरहुन् । खुशी रहुन् । ओठ मुस्कुराइरहेको होस । वरपर बसेका मलामी मेरो मुस्कान देखेर हाँसुन् खुशी होउन । हो त्यसैले म यो निर्णयमा पुगेँ । 
मैले जानेसम्म आजको मितिसम्म कसैलाई दुखि बनाइन । दुख दिइन । म कसैलाई दुख दिन चाहन्न दुखि बनाउन चाहन्न । म चाहन्छु मेरो कारणले कसैलाई चोट नपुगोस चित्त नदुखोस । तर के थाहा म सँधै यस्तै रहिरहन्छु । भोलीका दिनमा यदि मेरो व्यवहार परिवर्तन भई मैले सबैलाई चतोट पुर्याउन थालेँ भने ?? म आफुमा आएको त्यो परिवर्तन सहन सक्दिन । म चाहन्छु म सबैलाई खुशी पारीरहुँ । मेरो वरपरका मान्छेहरु मसंग खुशी छँदै म मरुँ ।
अघि पनि भनेँ मैले सफल हुन मरिहत्ते गरिनँ । जे छ जति छ त्यतिमै सन्तुष्ट भएँ । तर के थाहा म सँधैभरी यसरीनै सन्तुष्ट रहिरहन्छु । मलाई कुनैपनि कुराका लागि मरिहत्ते गर्नुछैन । तर के थाहा भोलीका दिनमा मेरा महत्वाकांक्षा बढ्दै गयो र त्यो पूरा हुन सकेन भने ?? म हरेक पाइलामा सफलतानै मात्र खोज्न थालेँ भने ?? मलाई यस्तो प्रवृत्ति पटक्कै मन पर्दैन । हार स्वीकार्ने बानी छ मेरो र सहर्स स्वीकार्न सक्छु र त्यसबाट पाठ सिक्न सक्छु आजका दिनसम्म । तर के थाहा म सँधै यस्तै रहिरहन्छु ? मलाई धेरै महत्वाकांक्षी बन्नु छैन । म जेछु जस्तो छु ठिकै छु र सन्तुष्ट छु । यहि सन्तुष्टिकाबीच म जीवनको अन्त्य भएको चाहन्छु न कि जीवनप्रति गुनासै गुनासो थुपारेर नाक खुम्च्याएर मरुँ । 
समग्रमा भन्नुपर्दा म अहिलेको जस्तो चम्चमाउँदो खुशीकाबीच नै मर्न चाहन्छु । त्यसैले यो निर्णयमा पुगेँ । मेरो यो निर्णयले कसैलाई दुख नपुगोस । किनकी म आफ्नो लहडले रहरले मर्दैछु । यसलाई सुसाइड नसम्झिनुहोला । इच्छा मृत्यु भन्ने पनि केहि हुँदो रहेछ । त्यहि सोच्नुहोला । यो कानुन विपरितको काम हो र पनि बाँचेकाले कानुन नमान्ने मेरो माहान मुलुकमा म मर्दै गरेको मान्छेले त्यतापटि ध्यान दिनुपर्छ जस्तो कति पनि लाग्दैन । त्यसैले मेरो यो नितान्त व्यक्तिगत निर्णयमा कसैको दुखेसो वा गुनासो नरहोस । मलाई गुनासो पटक्कै मन पर्दैन । यदि तपाईहरु कसैले गुनासो गर्नुभयो भने सम्झनुहोस मेरो आत्माले शान्ति पाउनेछैन । 
अन्त्यमा मलाई आजको दिनसम्म खुशी रहन सुखी रहन साथ दिनुहुने सबैजना समक्ष हृदयदेखि आभार व्यक्त गर्दै यो संसारबाट विदा हुने अनुमति माग्छु । सायद अनुमति दिने नदिने अन्यौलमा रहँदै गर्दा म धेरै टाढा पुगिसक्छु होला  । त्यसैले अन्यौलमा पर्ने कष्ट पनि गर्नुपरेन । खुशी हुनुहोस एउटा मान्छे खुशी खुशी संसारबाट विदा भयो । पत्र पढिसकेपछिको बाँकी समय सबैको शुभ बितोस । 

रुबिना । 
********************************

साँच्ची कसैले यस्तो सुसाइड नोट लेख्लान् की नलेख्लान् ?? यस्तो कारण देखाएर कोहि मर्लान् की नमर्लान् ?? यो सुसाइड नोट नै भयो त ??
एका विहानै कसैको आत्महत्याको समाचार सुनियो । दिक्क लाग्यो । मान्छेहरु किन आत्महत्या गर्दाहुन् ?? एक झट्कामा दिमागमा अर्को कुरा आयो सुसाइड नोट कस्तो होला ?? कसैको सुसाइड नोट पढ्ने इच्छा जाग्यो । सुसाइड नोट हुन्छ चाहिँ कस्तो ? केहि अघि भारतीय नायीका जीया खानको सुसाइड नोट पढेको थिएँ तर त्यो सुसाइड नोट जस्तो लागेको थिएन । जीवनप्रतिको गुनासो र आरोपले भरिएको पत्रजस्तो लागेको थियो । हुन त मान्छेले आत्महत्या गर्नेनै जीवनदेखि विरक्त लागेर होला अनि गुनासोले नभरिएर केले भरोस त । ट्वीटरमा इच्छा जाहेर गरेँ सुसाइड नोट पढ्न मन लग्यो भनेर । थरी थरीका कमेन्ट आए । रबि मिश्र दाइको कमेन्ट आफै लेख भन्ने थियो । दिनभरी हुटहटी चलिरह्यो सुसाइड  नोट लेख्ने । अहिले लेख्दैछु । यो लेखिसक्दा सम्म सुसाइड नोट नै रहन्छ वा अरु केहि बन्छ थाहा छैन । एकदम वाहियात हो यो तर मनले जे भन्छ त्यो गर्नै पर्छ रे नत्र रातभर निन्द्रा लाग्दैन । यसको मतलब मैले सुसाइड गर्न लागेको भनेर नबुझम् । नोट लेख्न मात्र मन लाग्या हो ।
र  विहानदेखिको हुटहुटी मेटाउन जीवनकै पहिलो सुसाइड नोट लेखियो । भ्रममा पारेकोमा माफी माग्छु ।

*****************************************
यो केवल विहानदेखिको हुटहुटी साम्य पार्न लेखिएको पत्र हो । यसलाई कुनैपनि हालतमा सिरियस्ली नलिइदिनुहोला । पढ्ने धैर्यता राखिदिनुभएकोमा धन्यवाद । :) :) 

Thursday, May 16, 2013

विभाजित भूगोल


हावा पनि छुटि्टएर बहन थाले रे अचेल
कतै मलाई स्पर्ष गरेको हावाले तिम्लाई नछोओस
हेर न खण्ड खण्डमा विभाजित छ आकाश
तिम्रो आकाशमा घाम लाग्दा
मेरो आकाश अँध्यारो हुन्छ
यस्तै छ जमिन पनि हिजो आज त
वर्षाले ओसिएको छ तिम्रो जमिन
म खडेरीले पटपट फुटेको जमिन नियाल्दैछु
विश्वासै त हो के थाहा
फाटेको जमिनबाट पनि पलाउला की टुसा प्रेमको
तर अहँ म सचेत छु
हाम्रो भुगोल अब एउटै छैन
भनेनी विभाजित छ
खण्ड खण्डमा
आकाश
जमिन
घाम अनि वर्षा
म आफैपनि
म आफ्नै छायाँ अचेल अर्को भुगोलमा देख्छु
कतै झुक्किएर म तिम्रो देशमा नपसुँ
मैले पाइला पाइलामा सिमा रेखा कोरेको छु
अब हामी एउटै भुगोल भित्र छैनौँ
हाम्रा लागि यो भुगोल एउटै छैन

Tuesday, April 23, 2013

मान्छे

म छोरी जन्मिएँ 
आमा असन्तुष्ट खुशि हाँसिन 
म फुच्चि 
सानी केटी 
अलि ठूलि 
अनि ठूलि 
विस्तारै हुर्किएँ 
म जवान 
म युवती बनेँ 
सानी केटीबाट म ठूली केटी 
राम्री केटी बनेँ 
अनि म सपना बनेँ कसैको 
रहर बनेँ 
कल्पना बने 
कसैले झरना भने 
कसैले सरिता 
म अग्लँदो हिमाल 
म गहिरो सागर 
अन्ततः कसैको प्राप्ती 
कसैको विपना 
कसैको साकार सपना 
म शुसील
शहनशिल, अविचलित 
म शाहसि बनेँ
ममतामयी
 आहा 
म माथि खर्च गरिएका शुन्दर उपमाहरु 
एक साँझ अलि ढिलो घर पुगेँ 
छिमेकमा म नकचरी भएँ 
एक विहान घरमा अलि ढिलो उठेँ 
अहो म त अलच्छिनी पनि भएँ 
म कुलटा भएँ 
कुलक्षिनी भएँ
दिनभरी म आदर्श थिएँ
दिन ढल्यो म अनार्य भएँ  
उपनामहरुले थिचिँएँ म 
अब उठ्न सक्दिन होला  
म बुढी बकैनाको रुख 
भोली विहान झर्ने सितले मलाई ढाल्नेछ 
म डुब्न लागेको घाम 
मलाई अँध्यारोले कहिले छोप्दैछ 
म विहानी पखको जुन 
केहिबेरमै मलाई घामले विस्थापित गर्नेछ 
सोच्दैछु , 
मैले बाँचेका तमाम वर्षहरु 
एक एक पलहरु 
म के के भएँ 
म को भएँ 
को भएर बाँचे 
मैले बाँचेको जीवन भरी म कहिले मान्छे भएँ  ??

Friday, January 25, 2013

"टाढा कतै "



"टाढा कतै " भन्ने ठाउँ छ रे संसारमा
यहाँ भन्दा ज्यादै धेरै टाढा
त्यो "टाढा कतै"
हिमालको काखमा होला
वा हिमालको चुचुरोमा
सागरको किनारमा होला
वा समुन्द्रको टापुमा
त्यो जंगलको बीचतिर होला
वा मरुभूमिको एकान्तमा
त्यो "टाढा कतै"
त्यहाँ पक्कै मान्छेहरु नहोलान्
प्रश्नहरु नहोलान्
व्यंग्य र तिरस्कार नहोला
विभेद र लान्छना नहोलान्
छलकपट, धोका र अविश्वास नहोला
हो , तिमी पनि
तिमी पनि हुनेछैनौ
 तिम्रो वाद, सिद्धान्त,
आस्था, आदर्श
प्रेम र अहंकार
त्यो "टाढा कतै"
जहाँ म हुनेछु
मेरो स्वतन्त्रता हुनेछ
मसंग मेरो मुस्कान हुनेछ
मेरा पदचाप हुनेछन्
मेरो समय हुनेछ
म केवल "मेरो मात्र" हुनेछु
र धेरै परबाट पछ्याइरहेको हुनेछ
तिम्रो याद
तिम्रो मुस्कान !!!

Friday, January 4, 2013

प्रसंगवस


प्रसंग १ 
केहि अघि एउटा कार्यक्रममा हिंसाका प्रसंग उठ्दा एकजना मित्रले सोधेका थिए "मैले केटीलाई हेरेँ केटी रिसाई त्यो पक्कैपनि उसमाथिको हिंसा हो तर यदि मैले हेर्दा केटी मुस्कुराई भने त्यो हिंसा हो की हैन ?" साधारण प्रश्न । सबैलाई हँसायो तर केहिबेर बहस पनि भयो सोहि प्रश्नमा । हो यदि केटि हाँसी वा मुस्कुराई भने त्यो हिंसा हो की हैन ? निश्कर्ष निकालियो कुनैपनि व्यक्तिको सहमति बेगर गरिने गतिविधि हिंसा जन्य गतिविधि हो यदि तिमीले कसैलाई हेर्दा उसको आपत्ति छैन भने त्यो हिंसा हैन । महिला माथि हुने हिंसा विशेषगरी पछिल्लो समय दिनानु दिन जसो समाचारका शिर्षक बनिरहेका बलात्कारका घटनाले आवज पुनः त्यहि प्रश्नले मथिंगल हल्लायो । यो प्रश्न एकजना मित्रलाई राख्दा स्टुपिड क्वेशन भन्ने जवाफ आयो । हो सुन्दा स्टुपिड नै लाग्छ । तर कम्तिमा यो प्रश्नले हिंसा केलाई भनिन्छ भन्ने कुराको साधारण जवाफ दिन्छ त्यसैले पनि म यसलाई स्टुपिड भन्दिन । किनभने मैले हिंसाको बारेमा कसैलाई भन्नुपर्दा म यहि जवाफ दिन्छु र उसलाई हिंसा भन्या तिम्लाई शरिरका यी यी भागमा हेर्दा वा छुँदा हुन्छ भनेर व्याख्या वा विस्तार गरिरहनुपर्दैन ।

प्रसंग २ 
बलात्कारका घटना लगातार जसो सार्वजनिक भइरहँदा अधिकारकर्मीको आवाज पनि चर्को हुँदै गएको छ । यो आवाज त्यसै नसेलाओस । भोजपुरकी एक युवतीमाथि त्रिभुवन विमानस्थल अध्यागमन विभागमा भएको बलात्कारको घटना सार्वजनिक भएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुको समूहले अकुपाई बालुवाटार भनेर बालुवाटारमा प्रदर्शन गर्ने अभियान सुरु गरे जुन जारी छ । सो अभियानमा स्वस्फुर्त रुपमा कलाकार, संचारकर्मि, अधिकारकर्मी, युवा, नागरिक समाज लगायतले सहभागिता जनाएका छन् । सुरुमा राजनीतिक नारावाजी भएपनि अहिले सो कार्य हटेको अभियानमा सक्रिय भएर लागेका अभियानकर्ताहरुको भनाई छ । सहभागि हुन्छु भन्दा भन्दै म भने सहभागि हुन पाएको छैन । अकुपाई बालुवाटारकै प्रसंगमा आज एकजना मित्रले प्रोटेस्टमा किन सहभागि नभएको भनेर फेसबुक च्याटमा सोध्नुभो । मैले भने म हरेक दिन सहभागि छु । म हरेक दिन विरोधको समाचार लेख्छु । रेडियो मार्फत प्रशारण गर्छु । मेरो जवाफको प्रतिक्रिया आएन । शायद चित्त नबुझेको हुनसक्छ । अचेल अकुपाई बालुवाटारको चर्चा निकै छ । यो अभियानले बालुवाटार र सिंहदरबारलाई छिटै ब्युँझाओस । कैले काँही त अकुपाई बालुवाटार वा यस्तै अन्य विरोधका कार्यक्रममा सहभागि नहुँदैमा महिला हिंसा विरोधि हैन रैछ भन्ने जसरी प्रश्न आउँछन् । एक अर्का मित्रको ठाडो भनाई यस्तो थियो । "तिमीहरु आफुलाई परेपछि थाहा पाउँछौ ।" उनको त्यो दरिद्र प्रश्नको जवाफ मसंग थिएन । मात्र फिस्स हाँसे । म तर्क गर्न जान्दिन र तर्कले जित्ने सामथ्र्य मसंग छैन । उनलाई तत्काल भन्न पनि सकिन "मित्र तिमी पुरुष हौ म महिला हुँ ।" सार्वजनिक सवारी साधनमा नियतबस म जस्तो तिमी छोइएको छैनौ, घचेटिएका छैनौ, सडकमा नियतबस मलाई जस्तो तिमीलाई मान्छेहरु घुरेर हेर्दैनन् । सुरक्षा दिन बसेका सुरक्षाकर्मीले शिरदेखि पाउसम्म तिमी नियाँलिएका छैनौ तर म हरेक पल्ट सुरक्षाकर्मी देखेपछि बाटो बदलेर हिँड्ने गर्छु । सडकमा दुईजना पुरुष प्रजातिका मान्छे देखेँ भने त्यो बाटो हिँड्न मैले तीन पल्ट सोच्नु पर्छ । तिमीले बालुवाटारमा हिंसा विरोधि नारा लगाइरहँदा यता मैले आज दिनभरी म माथि हुन सक्ने हिंसाबाट बच्न नयाँ नयाँ उपाय सोचिरहेको हुन्छु । किनभने मलाई थाहा छ मेरो सुरक्षा म स्वयमले बाहेक अरु कसैले गर्न वा गरिदिन सक्दैन गरिदिदैँन । त्यसैले मलाई दुई वटा सार्वजनिक यातायातको साधनमा दर्जन मान्छेहरुको घुराई र अनावश्यक छुवाई सहेर बालुवाटार घेर्न आउनुभन्दा चुपचाप टेम्पो जुन अन्य सवारी साधन भन्दा सुरक्षित मान्छु त्यो चढेर सरासर कार्यालय जानु उचित सम्झिन्छु । तिमीलाई म माथि हिंसा विरोधिको आरोप लगाउनु छुट छ मित्र । त्यसमा मलाई कुनै आपत्ति छैन । किन भने तिमीले हिंसा पिडित महिलाका आर्तनाद सुनेका होलाउ मैले प्रत्यक्ष अनुभव गरेको छु ।  तिमी हिंसा विरोधि हौ । तिम्रा महान विचार र तिम्रो यो दबाबलाई म सम्मान गर्छु किन भने तिमी विरोध कार्यक्रममा सहभागि छौ र मलाई विश्वास छ  हिंसा विरोधि अभियानमा सहभागि कुनैपनि महिलालाई गलत नियतबाट तिमी हेर्दैनौ र विरोध कार्यक्रमबाट फर्केपछि साथीलाई हेर्न त्यो केटि त यस्ती रैछ भन्दैनौ ।
प्रसंग ३ 
विरोध प्रदर्शन र नाराबाजीले  सरकार वा सरोकारवाला निकायलाई दबाब दिन्छनै यसमा कसैको दुई मत नहोला । तर निदाएको मान्छेलाई ब्युँझाउन सहज हुन्छ निदाएको अभिनय गर्ने मान्छेलाई ब्युँझाउन लाख कोसिस गरेपनि सकिँदैन । बालुवाटार र सिंहदरबार अहिले त्यस्तै अवस्थामा छन् । घटना थाहा नभएको होइन छ तर सुन्या नसुन्यै गर्दियो कुरै सकियो । राजनीतिक गोलचक्करबाट कसलाई फुर्सद छ र अहिले यी सब सुन्नलाई । यसो भन्दा साह्ै गैर जिम्मेवारीपूर्ण तर्क हुन्छ तर बुझ्नैपर्ने कुरा यहि हो । शत्ताको लुछाचुँडिमा अल्झिएका दलका नेताहरुलाई कहाँ यी हिंसाका नालिबेली सुन्न फुर्सद ? होइन भने पेट्रोलको भाउ दुई रुपियाँ बढ्दा सडकमा आगो बाल्ने दलका भ्रातृ संगठन अहिले कता छन् ? खै दलका महिला संगठनहरु ? घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् खै सरकार बोलेको ? यस्तोमा मुख्य सचिवको पाठक प्रतिक्रिया आउँछ साइकल चढेर कार्यालय जाउँ । कति हाँस्नु । अनि भटराई हटाउन आन्दोलन गर्छु भन्ने विपक्षि सरकारको यो कमजोरीमा चुइक्क बोल्नु पर्दैन ? खैर दलहरुलाई शत्ताको बार्गेनिङ गर्दै फुर्सद छैन, यसमा धेरै शब्द नखर्चिउँ । मेरो भनाईको तात्पर्य के मात्र हो भने मुलुकमा दण्डहिनताको चरम अवस्थामा छ । संक्रमणकालिन राजनीतिक परिस्थितिको फाइदा उठाउनेहरु बढेका छन् । अवस्था हिजो पनि यस्तै थियो । आज पनि उस्तै छ । फरक यति हो हिजो मानिसहरु कम बोल्थे घटना लुकाइन्थ्यो आज बोल्न थालेका मात्र हुन् । आवाजहरु बुलन्द हुँदै जानुपर्छ । तर राजनीतिलाई दोष दिनुभन्दा पहिला नागरिक आफै पनि सचेत हुुनु आवश्यक छ । बलात्कार तथा महिला हिंसा जन्य घटना आज मात्र देखिएको समस्या होइन र यो तत्काल निवारण हुने विषय पनि होइन । समाज जति अघि बढ्दै जान्छ यसका प्रारुप पनि बदलिँदै जान्छ । त्यसैले दबाबसँगै जनचेतनाका कुरालाई पनि अघि बढाउनु उपयुक्त हुन्छ । धेरै जसो हिंसाका घटना घरबाटै सुरु हुन्छ । अधिवक्ता सपना मल्ल भन्छिन् समाजमा व्याप्त पितृसतात्मक सोच र मूल्य मान्यता नहटेसम्म महिला माथि हुने हिंसा अन्त्य असम्भव प्राय छ । त्यसैले हरेक पुरुषले आफुलाई पुरुष भन्दा पहिले मानव हुँ भनेर चिनुन् । हरेक परिवारका ठूला सदस्यले घरका साना सदस्यलाई हिंसाको प्रारुपबारे जानकारी गराउन् । आफ्ना छोरीहरुलाई विशेषगरि उनीहरुमाथि हुन सक्ने यौन दुव्र्यवहारबारे बेलैमा सचेत गराउनुहोस त्यहिनै सबैभन्दा महत्वपूर्ण संरक्षण हुनेछ । र आफ्ना छोराहरुलाई सिकाउनुहोस महिलाहरुलाई सम्मान गर्न ।