Sunday, November 6, 2016

संवेदना हराएको मान्छे

आजकल मन दुख्दैन
तन दुख्दैन
दुख्दैन जीवन पनि
अहँ हाँस्दैन मन
आँखाहरु ओठहरु
अनि हाँस्दैनन खुशिहरु
न त रुन्छन दुखहरु
भाव शुन्य आँखाहरु
मौन मस्तिष्क
निशब्द ओठ
देवकोटाले जस्तै
म कैलेकाहिँ आवाजहरु देख्छु
दृश्यहरु सुन्छु 


कसैले दुखका कथा सुनाउन आए
लाग्छ मैले जति दुख कस्ले देख्यो ?
कसैले सुखका कुरा सुनाए
म जत्तिको खुसी नि कोइ होला र ??
यस्तै सोच्छु म ।
सेल्फ सेन्ट्रीक भन्छ्न क्यार हो त्यस्तै ।
कसैको दुख सुन्नु छैन
कसैको पीडा बुझ्नु छैन
कसैसँग बाँड्नु छैन खुसी अनि सुख
कोहि हाँसुन नहाँसुन
कोहि रोउन सुक्सुकाउन
भक्कानो छोडुन दुख मानुन
मलाई कसैको वास्ता छैन
म संवेदना हराएको मान्छे

मेरो संवेदना
हरायो त्रीशुलिमा हराएका लाशहरु सँगै
दुर सुदुरका मृत सुत्केरी आमाहरुसँगै सति गयो
उपचार खर्च जुटाउन नसकेको युवकसंगै अस्पतालको चौथो तल्लाबाट हाम्फाल्यो
राम्रो लाउने मीठो खाने लोभमा बेचियो दिल्ली, साउदी अनि कुवेतमा
अनि बग्यो, आफ्नै साक्खै मामा/काका/दाजुहरुबाट बलात्कृत बालिकाको योनिबाट बगेको रगतसँगै
म संवेदना हराएको मान्छे ।।