Monday, February 21, 2011

शहर र सपना

धेरैले सहर पसेर सपना पुरा गरेका छन् धेरैले सहर पसेर सपना भुलेका छन् धेरैको सपना सहर पसेर अल्मलिएको छ अल्मलिएका धेरैका सपना सहर पसेर स्पस्ट भएका छन्
सपना र सहरको यस्तै प्रसङ्ग

सपना खोज्दै शहर पसेकाहरु

शहर हराएको पत्तो पाउँदैनन्

सपना बोकेर शहर पसेकाहरु

सपना लुटिएको पत्तो पाउँदैनन्

सपना र शहर

शहर र सपना

सपना मिठो

शहर तितो

सपना मृगतृष्णा

शहर वास्तविकता

खोज्दा खोज्दै हराउँछ सपना

हराउँदा हराउँदै भेटिन्छ सपना

भिडभित्र हराउँछ शहर

भिडभित्रै भेटिन्छ शहर

कहिले शहरमा सपना हराउँछ

कहिले सपनामा शहर हराउँछ

सपनामा शहर हाँस्छ

शहरमा सपना रुन्छ

शहरमा सपना थिचिन्छ

उनीहरु सपनामा रुमलिन्छन्

उनीहरु शहरमा अलमलिन्छन्

उनीहरु सपनामा शहर देख्छन्

उनीहरु शहरमा सपना देख्छन्

मनमौजि सपना

मनमौजि शहर

सपना नितान्त व्यक्तिगत

शहर कस्को कस्को

आफ्नो भइकन पनि अरुको

अरुको भइकन पनि आफ्नो

विपना बन्न लालायीत हुन्छन् सपना

समयको सुनामिमा बग्छ शहर

बस

शहरमा सपना लुटिन्छन्

हरेक पल

टुक्रिन्छ

डुक्रिन्छ

चुँडिन्छ

यदा कदा फक्रन्छ

नत्र मर्छ

सपनामा शहर हाँस्छ

झिल्मिलाउँछ ,

आफ्नो भई टोपल्छ

बोलाउँछ

प्रेम गर्छ

अनि सपना बाँड्छ

लोभ्याउँछ

झुक्क्याउँछ

अनि मिल्काउँछ

त्यसैले सपना आफ्नो

शहर विरानो

मनमौजि सपना

मनमौजि शहर

फेरी पनि

उनीहरु सपनामा शहर देख्छन्

फेरी पनि

उनीहरु शहरमा सपना देख्छन्

शहर र सपना

सपना र शहर ।