Monday, April 30, 2012

"मेरो नाम .कार्टुन"

"भाई तिम्रो नाम के हो ?" "मेरो नाम ??" "मेरो नाम अ...कार्टुन ।" मैले नाम सोध्दा उसले टाउकोमा फोहोर फालेपछि रित्तिएको कार्टुन हालेको थियो । त्यसैले होला उसले आफ्नो नाम नै कार्टुन भनेको । जवाफमा म हाँसे । सँगैका केहि साथीहरु पनि । छेउको अर्को कुर्सीमा बसेका व्यक्तिले उसको असली नामले बोलाएथे । उसको नाम के थ्यो बिर्सेँ । सोधिन पनि फेरी । लाग्यो उसलाइ आफ्नो नामनै भन्न मन छैन भने किन कर गर्नु । एक छिनपछि फेरी सोधेँ । "भाइ कति वर्ष भयौ ?" "म ?? १६ वर्ष ।"
नाम भन्दा छिटो उमेर भन्यो उसले । कस्तो हावा होला नाम सोध्दा नभन्ने उमेर भने हतार हतार भन्छ भाई त के हो । ऊ १६ वर्ष पुगेको धेरै भयो रे । खै २। ४ वर्ष अघिदेखि ऊ १६ वर्ष नै छ रे । तर मान्छे हेर्दा भने मुस्किलले १३ । १४ वर्ष होला । हिजो आज विहान दैनिक जसो एक घण्टाको समय अनामनगरको दहालको दैलोमा बित्छ । विहान एक घण्टा म्याकुअल अंकललाई भेटेपछि दहालको दैलोमा चिया गफ हुन्छ । बसाई रमाइलै हुन्छ । त्यसैले बसिन्छ । पढाईका कुरा, राजनीतिक गफगाफ, समय सान्दर्भिक विषय वस्तु, एक अर्कालाई सकुन्जेल भित्तामा पुग्ने गरी मौखिक दनक दियो यसै रमाइलो । अरु केहि नभएपनि सेन्स अफ ह्युमर भने राम्रै बढेको मानेको छु मैले । दहालको दैलोमा काम गर्ने सानो भाई उसैले दिएको नाम अनुसार कार्टुन यता उता दौडिन्छ चिया बोकेर । उसले ग्राहकसँग गरेको व्यवहार, बोलीचाली सब रमाइलो लाग्छ मलाई । साथीहरुसँगको गफगाफका अलावा उसको चर्तिकला हेर्न पनि मजा लाग्न थालेको छ अचेल । साहुजी सँग रिस उठेको बेला उ ग्राहकसँग पनि रिसाइदिन्छ । उसको के जान्छ र । ग्राहकले अली होच्याएको वा हेपेको थाहा पाए ऊ ठूलो पल्टिदिन्छ । उसको त्यो attitude पनि गजव लाग्छ मलाई । अंग्रजीमा एउटा उखान छ नी teet for tat । हो ऊ त्यस्तै गरिदिन्छ जस्तालाई त्यस्तै । उसकोमा पुग्ने नियमित ग्राहकसँग ऊ उस्तै प्रकारले प्रस्तुत भइदिन्छ । सुने अनुसार उसले त्यो पसलमा काम गर्न थालेको निकै वर्ष भयो रे । निकै भनेको कति होला । भन्नलाई १६ वर्ष भनेनी ऊ १६ वर्ष भन्ने कुरा त ज्यान गए पत्याउन सक्दिन म । सानै उमेरमा काम गर्न थालेको भएर पनि उसको शैलि फरक छ । निकै प्रोफेस्नल ढंगमा ग्राहकसँग डिल गर्छ । ऊ स्कुल जाँदैन । कुनैदिन गएको थियो होला सायद वा थिएन । सोधेको छैन । सोध्दिन पनि होला । पछिल्लो पटक हिन्दि फिल्म आइ एम कलाम हेरेपछि झन उसका कृयाकलापले मलाई आकर्षित गर्न थालेको छ । उक्त फिल्ममा पनि लगभग उसकै उमेरको केटा छ । छोटु नाम गरेको ऊ राष्ट्रपति अब्दुल कलामको जीवनीबाट प्रभावित हुन्छ र आफ्नो नाम पनि कलाम राख्छ । पढेर कलाम जस्तै ठूलो मान्छे बन्ने दृढ इच्छाशक्ति पालेका कलाम उर्फ छोटुले पनि आफुले काम गर्ने दोकानमा ग्राहक आकर्षित गर्न अनेक तिकडम अपनाउँछन् । सपना देख्नुपर्छ भन्ने कलाम भाग्यमा हैन कर्ममा विश्वास गर्ने हुन्छन् र उसको कर्मले उसलाई स्कुलसम्म पुर्याउँछ । छोटु र कार्टुनबीच धेरै असमानता होलान् तर पनि कार्टुनलाई देख्दा कलाम सम्झन्छु । यी दुईबीचको समानता पहिल्याउन खोज्छु । अहिलेसम्म मैले भेटेको समानता दुवै साना छन् र परिस्थितिले सायद दुवैलाई उस्तै कामका लागि परिवारबाट टाढा पुर्याएको छ । बाँकी यी दुईबीच अरु खास समानता छन् वा छैनन् खोजेको छैन । छोटुमा जस्तो पढ्ने र पढेर ठूलो मान्छे हुने दृढ इच्छाशक्ति "कार्टुन"मा होला ? उसको सपना कस्तो होला ? आफु भन्दा सानी साहुकी छोरी स्कुल गएको देख्दा उसमा पनि स्कुल जाने रहर चढ्ला कि नचढ्ला । हरेक दिन ग्राहकलाई चिया नास्ता पुर्याएर सुरु हुने र अन्त्य हुने उसको जीवनले कस्तो मोड लेला ?? वा दहालको दैलोमा ग्राहक सँगै डिल गर्दै ऊ "ठूलो मान्छे" हुनेछ आफ्नो ठाउँमा । धेरै प्रश्न अनुत्तरित छन् । यसको जवाफ खोज्दीन म । खोज्नु आवश्यक पनि छैन । किनकी हरेक दिन म विहान कामका सिलसिलामा शहर पस्दा "कार्टुन" र "छोटु" जस्ता धेरै बालबबालीका देख्छु जस्को अवस्था उनीहरुको भन्दा पनि गयगुज्रेको छ । कम्तिमा उसले सडकमा अरुको अगाडि हात फैलाउनुपरको छैन । कम्तिमा उसले बाटो हिँड्ने कथित ठूलाबडा भनौदाहरुको तितो बचन सुन्नु परेको छैन । स्कुल जान पाएन त के भो । उसले जीवन बुझ्न पाएको छ । संघर्ष बुझ्न पाएको छ । आफ्नै जीवनो पाठशालामा उसले स्कुलमा भन्दा थुप्रो ज्ञान बटुलेको होला सायद । उसले दिएको चिया मात्र पिउँदा पनि उसँगको आत्मियता राम्रै बढेछ कि कुन्नी भलै मेरो उसँग दोहोरो कुरा हुँदैन उसलाई अरुले तँ भनेर सम्बोधन गरेको भने पटक्कै मन पर्न छोडेको छ । बोलाउनेले तिमी भन्दिए हुने नी भन्ने लाग्छ । तर केहि भन्दिन । कुनै दिन उसले आफैले भन्ला नी दाई/ दिदी मलाई तँ भनेर नबोलाउनुस है ।

Wednesday, April 18, 2012

माइक्रो माग

"आमा है नी मामाघरको बैनीको कस्तो नाम्रो फरक छ फुर्र परेको क्या । कस्तो राम्रो छ अनी कस्तो मज्जाले घुम्छ भन्या । हे..हे..हे.."
"हैनी आमा मलाई नी त्यस्तै फरक है आमा । भोलीनै सिलाइदिनु न क्या । आमा कस्तो हुनुहुन्छ भन्या तपाई अरुको लुगा भने भन्नी वित्तिकै सिलाइदिने मलाई चाहिँ सिलाइनै दिनुहुन्न । है आमा मलाई नी फरक फुर्र परेको ।"
कलंकीबाट बाल्कोट चल्ने माइक्रोमा आज (२०६९। १। ६ गते ) साँझ एउटी सानी नानीले आफ्नी हजुरआमासँग गरेको गुनासो हो यो ।
अक्सर साँझ अफिसबाट फर्किँदा म चढ्ने माइक्रोमा अनेकथरीका सम्वाद सुन्न पाइन्छ । कति चाखलाग्दा हुन्छन् कति दिक्क लाग्दा । के गर्नु सार्वजनिक यातायातमा आफुले भने जस्तो नहुने, गफ गर्नेलाई नगर भन्नुनी नहुने नत्र तिम्रा बाको गाडी हो र भनी हाल्छन् । त्यैभएर खासै वास्ता गरिन्नन् "माइक्रो सम्वाद"हरुलाई । आज भने त्यो तोते बोलीमा पोखिएको गुनासो निकै चाख मानेर सुनियो । करिब ५ वर्षकी नानीका अघिल्ला वाक्यमा खासै ध्यान दिएकी थिइन मैले । गाडि निकै भिड थियो त्यसैले पनि सकेसम्म आफुलाई सहज बनाउने ध्याउन्नमा मात्र थिएँ म । तर जब उनको पछिल्लो वाक्य सुने त्यसपछि अनायास हाँसो फुत्किएको पत्तै भएन । सानो मान्छेको कत्रो गुनासो भन्ने जस्तो लागयो । अनि पूरानो उखान सम्झिएँ "डकर्मिको घर भत्किएको हुन्छ , सिकर्मीको घरमा भर्याङ भाँच्चिएको हुन्छ" । खासमा म गाडिमा चढेपछि उनले आफ्नी हजुरआमा समक्ष राखेको यो तेस्रो माग थियो । खै म चढ्नुअघि अरु कति माग राखिसकेकी थिइन् । उनका अघिल्ला दुई माग भने पप र चप्पलको थियो । कोटेश्वर तिर पुग्दा उनको तोतेबोली सुन्न थालेको थिएँ । म भन्दा ठ्याक्कै अगाडिको सिटमा हजुरआमाको काखमा बसेकी उनले आमालाई कोट्याउँदै भनेकी थिइन् "आमा भोली विहान म चियासँग पप खान्छु है । मलाई भोलीदेखि सँधै चिया र पप दिनुस है आमा ।" आमा नबोलेपछि फेरी उनले कोट्याउँदै आमालाई आफ्नो प्रस्ताव स्वीकार्न वाध्य बनाईन "आमा हुन्छ भन्नुसन । कस्तो होला आमा त हुन्छ नै भन्नु हुन्न ।" अनि आमाले हाँस्दै हुन्छ भन्नुभयो । अनि कौशल्टार नपुग्दै थपियो दोस्रो माग चप्पलको । गाडि बाल्कोट छिराउने मोडमा रहेको चप्पल पसल देखेर हुनुपर्छ उनले त्यो माग अघिन सारेको । "आमा मलाई पनि चप्पल किन्दिनुस है । घर बस्ने चप्पल क्या आमा । मलाई घर बस्न चप्पल नै छैन ।" यो मागमा आमा हाँस्नुभयो मात्र । र तेस्रो माग फ्रकको उनको घर पुग्नु भन्दा अलि अगाडि राखिन् उनले । यसमा आमाको प्रतिक्रियाको त्यति ख्याल गरिएन । केहि नभएनी आमाले पनि मैले सम्झेको उखान पक्कै सम्झिनुभयो होला । झर्ने बेला सम्म पनि नानी आमालाई अरु केके भन्दैथिइन् । चटपटे बोलीमा । म भने सोच्दै थिएँ आज तोते बोली छ भोली यी आवाज चर्को हुँदै जानेछन् अनी मागहरु पनि । के हजुरआमाले सँधै यसैगरी सहज ढंगमा हाँसेर माग पूरा गर्दिन्छु भन्नुहोला ।।।।