Sunday, December 23, 2012

स्कुटर महिमा

सानो छँदा घर अगाडिको बाटो हुँदै दुई जना राम्रा दिदीहरु स्कुटरमा सानसँग अफिस गएको देख्थेँ । त्यतिबेला सोच्थेँ म पनि यस्तै स्कुटर चढ्छु । सान सित अफिस जान्छु । अहिले उनीहरुलाई देख्दिन । 
स्कुटर चढ्ने जो कोहि केटि मान्छे देख्दा आहा म पनि चढ्छु कुनै दिन भन्ने कुरा दिमागमा आइहाल्थ्यो । विस्तारै ठूलो भइयो । स्कुटर चढ्ने सपना पनि जवान हुँदै गयो । आफै पैसा कमाउँछु अनि किन्छु स्कुटर भन्ने सोच्न थालियो । सुरुमा एउटा रेडियोमा समाचार प्रस्तोताको काम गरेँ । विजोग !! कैले काहिँ त घरमा आमासँग बस भाडा माग्नु पथ्र्यो कताको स्कुटर किन्नु । उक्त रेडियोमा काम गरेको झण्डै डेढ वर्षपछि अर्को रेडियोमा काम सुरु गरियो । 
मेरो स्कुटर चढ्ने सपना अब त वयस्क भइसकेको थियो । त्यसैले पनि स्कुटर सिकियो आँटै गरेर । तर के गर्नु । फुकिढल ज्यानले कताको स्कुटर थेग्न सक्थ्यो । जान्दै नजानी सिक्न छोडियो । दैनिक दुइवटा गाडि फेरेर अफिस पुग्दा लामै यात्रा पछि घर पुगेको जस्तो लाग्थ्यो । त्यसैले पनि अब स्कुटर नकिनि हुन्न भन्ने विचार बलियो हुँदै गयो । अझ कैले काहिँ घण्टौँ कुर्दापनि घर पुग्ने गाडि नपाएर दार्इृ वा भाउजुलाई लिन बोलाउनुपर्दा त अब चाहिँ नकिनी हुन्न जस्तो लागि हाल्छ । 
कैले काहिँ आधा घण्टाको बाटो लखर लखर हिँडेर आउनुपर्दा बाटाभरी स्कुटर महिमा गाउँदै आउनुपर्छ । अब त किन्नुपर्छ भन्न थालेको नी ४ वर्ष भइसक्यो । तर किन्ने दिन अझै जुरेन । हिजो आज भेटेका जति सबै जसोले स्कुटर किन्ने सल्लाह दिन्छन् । तर खै के नमिलेको के नमिलेको । मेरो स्कुटर किन्ने कहानीपनि छेपारोको उखान जस्तै भो । झन अचेल त पेट्रोलको भाउ लौका बढ्या जस्तो बढ्या देख्दा कसरी पाल्नु त्यो दुइ पांग्रेलोई जस्तो लाग्छ । जागिर यहि हो । आमा स्कुटरमा तेल हाल्नु पर्यो पैसा दिनुन भन्नुपर्यो भने हेर विजोग । बाले फेरि लोकसेवाको जाँच दिन करकर गर्नुहोला भन्ने पिर । उफ !! 
 झण्डै एक वर्ष अघि एकजना दिदीले "नानी अब त स्कुटर किन" भन्नुभाथ्यो । सजिलोसँग जवाफ फर्काइयो "दिदी घर पछाडिको भोगटेको बोटमा स्कुटर फल्दैन ।" वित्थामा भनिएछ नी !! दिदी अझै नि जिस्काउनुहुन्छ "नानी फलेन स्कुटर" ?? अहँ दिदी फलेन अझै फल्ने दिन आको रैनछ । 

Tuesday, December 4, 2012

अन्तिम पातो


उ त्यहाँ बाट जानु अघी पहिलेको जस्तै भएर गयो पहिलेको जस्तै चम्किलो अनुहार दिउसै तारा झिल्मिलाए जस्तो र थमाएर गयो एउटा सानो नोटबूक उ गएको धेरैबेर पहिलेको उ र अहिलेको उ बीच तुलना गर्दै बसेँ । उस्तै । परिवर्तन ...एउटा गाम्भिर्यता !! पहिले भन्दा अली भावुक, तर त्यस्तो नलाग्ने, उस्तै चट्पटाहट , चिटिर पिटिर । धेरै बेर पछी उस्ले थमाएको नोटबूक खोलें ! कस्तो आलु रछ जाबो दुइपन्ना त्यो पनि अन्तिम पातो मात्र पो रहेछ , अगाडिको पछाडिको कभरले पो मोटो भको रछ । अन्तिम पातो मात्र रहेछ
अन्तिम पातोको सार यहाँ उल्लेख छ....
.......................................
कति सजिलै गालि गरिन्छ वा तारिफ गरिन्छ है समयको । केहि राम्रो भो समय, केहि नराम्रो भो समय, समयले यस्तो गरायो, समयले उस्तो गरायो । सजिलो बहाना हो समय जे सुकैको लागि जस वा अवजस दिनु । तर म समयको अवज्ञा गर्ने मान्छे । मलाई समयले यहाँ पुर्यायो वा समयले यस्तो गरायो भन्न मन लाग्दैन भन्दिन । सबै कुराको सहि समय आउँछ त्यो आफ्नो ठाउँमा छ तत् क्षणमा के कस्तो कुरा हुन्छ वा घटना हुन्छ त्यो पात्रमा निर्भर हुन्छ भन्नेमा म विश्वास गर्छु । कुनै बेला म एकदम आशावादी मान्छे थिएँ । न भन्ने शब्द सके सम्म कतै कसैगरी उचारण गर्नु नपरोस भन्ने पक्षमा रहन्थेँ । 
संसारमा केहि कुरा असम्भव छ जस्तो लाग्दैनथ्यो मलाई र हो पनि केहि कुरा असम्भव पनि भएन । नसोचेका धेरै कुरा प्राप्त गरेँ । साँचेका र सोचेका धेरै कुरा पाइएन र पनि खुशी रहेँ । धेरैको आश्चर्य र प्रश्न हुन्थ्यो तिमी यति धेरै खुशि कसरी हुन्छौ << मेरो सरल जवाफ किनभने मलाई दुखी हुन मन लाग्दैन ।  धेरै खुशि रहेँ जतिबेला म optimistic  थिएँ असम्भव जस्तो लाग्ने हरेक विषयलाई फरक ढंगबाट सोचेँ सम्भव बनाएँ यसको मतलब अहिले optimistic छैन भन्न खोजेको हैन । अहिलेपनि उत्तिकै optimistic छु तर अलि फरक ढंगमा । मैले आफ्नै लागि अलि धेरै space create गरेको छु जुन पहिले थिएन कुनैबेला आफुलाई भन्दा धेरै प्राथमिकतामा राखेँ आफु वरपरका व्यक्तिलाई, साथीभाईलाई, आत्मियजनलाई र आफैलाई कम प्राथमिकता दिइयो । "never give importance to anyone more that yourself because once that person becomes important you become nothing"    मलाई यो कोटेशन राम्रैसँग थाहा थियो र पनि खै कहिले ध्यान दिइएन वा दिनु आवश्यक ठानिएन । साँच्चै विस्तारै मैले आफुलाई आँफैबाट अलग्याउँदै लगेँ । म आफुलाई भन्दा बढी अरुलाईनै प्राथमिकतामा राख्न थालेँ र नभन्दै आफुबाट टाढिँदै गएँ । निकै गाह्रो हुँदो रहेछ छरीएको म लाई फेरी समेट्नु ।  समेटिएँ । कता कती अझै छरिएको हुँला विस्तारै समेटिनेछु । यति भइसक्दा पनि म अझै भन्दिन यो समयको खेल हो वा समयको माग हो समयको अरु केहि । यो सब मेरो रोजाई मेरो भोगाई । मेरो अपरिपक्वता, मेरो लहड ।  तर तत् क्षणमा जे गरेँ त्यो मेरा लागि सहि थियो । म खुशी थिएँ । मैले आफैलाई वाइपास गरेर अरुलाई प्राथमिकतामा राखेँ त्यो मेरो कमजोरी वा अपरिपक्वता हुन सक्छ गल्ति हुन सक्छ । जो मसँग टाढिए वा टाढिन खोजे वा जो मेरो आत्मियता वा मैले गर्न खोजेको आत्मियताको गलत व्याख्यासँग तर्सिएर टाढिन खोजे त्यसमा उनीहरुको केहि दोष छैन । 
आज म जे छु जस्तो हालतमा छु म नितान्त आफ्नै कारणले छु । कसैबाट म दुखेँ हुँला, मलाई कसैसंग रिस उठ्यो होला तर त्यसमा पनि म त उनीहरुको गल्ति देख्दिन । मैले त्यस्तो व्यक्तिलाई प्राथमिकतामा राखेँ जो कुनैपनि बेला मबाट टाढिन सक्ने ग्यारेण्टिका साथ उभिएका थिए । मैले त्यस्ता व्यक्तिलाई प्राथमिकतामा राखे जसले कुनैपनि बेला मलाई आफ्नो प्राथमिकताको सूचिबाट हटाउन सक्थे । हो गलत म हो जो जहिलेपनि अरुलाई खुशी भएको देखेर खुशी हुन खोजेँ जसले आफ्नो स्वतन्त्र खुशीको लागि केहि गर्न सकेन । र दुस्प्रयास गरेँ अत्मियताको गलत ब्याख्या गर्ने ।  तर अब अलिकति आफ्नै लागि बाँच्दैछु, अलिकति आफ्नैलागि नितान्त आफ्नै स्वार्थका लागि हाँस्दैछु । कसैसँग गुनासो छैन । म कसैसँग रिसाएकी छैन रिसाउँदिन पनि । मन हो कहिले काँहि दुख्छ । त्यो सम्हालिन नसक्नुको प्रतिफल भन्दा अरु केहि होइन । मैले जोजतिलाई आफुभन्दा माथि राखेँ उनीहरु सँधै म भन्दा माथिनै रहन्छन् । अर्थात् प्राथमिकता उस्तै छ । फरक यति हो यहाँनेर मैले आफैलाई पनि प्राथमिकतामा राख्न सिक्दैछु । म हुनुको अर्थलाई अर्थपूर्ण बनाउन खोज्दैछु । चरम आशावादी भएर होइन । वास्तविकताको धरातलमा उभिएर केवल आशावादी भएर ।

हस्ताक्षर : माया