Sunday, December 23, 2012

स्कुटर महिमा

सानो छँदा घर अगाडिको बाटो हुँदै दुई जना राम्रा दिदीहरु स्कुटरमा सानसँग अफिस गएको देख्थेँ । त्यतिबेला सोच्थेँ म पनि यस्तै स्कुटर चढ्छु । सान सित अफिस जान्छु । अहिले उनीहरुलाई देख्दिन । 
स्कुटर चढ्ने जो कोहि केटि मान्छे देख्दा आहा म पनि चढ्छु कुनै दिन भन्ने कुरा दिमागमा आइहाल्थ्यो । विस्तारै ठूलो भइयो । स्कुटर चढ्ने सपना पनि जवान हुँदै गयो । आफै पैसा कमाउँछु अनि किन्छु स्कुटर भन्ने सोच्न थालियो । सुरुमा एउटा रेडियोमा समाचार प्रस्तोताको काम गरेँ । विजोग !! कैले काहिँ त घरमा आमासँग बस भाडा माग्नु पथ्र्यो कताको स्कुटर किन्नु । उक्त रेडियोमा काम गरेको झण्डै डेढ वर्षपछि अर्को रेडियोमा काम सुरु गरियो । 
मेरो स्कुटर चढ्ने सपना अब त वयस्क भइसकेको थियो । त्यसैले पनि स्कुटर सिकियो आँटै गरेर । तर के गर्नु । फुकिढल ज्यानले कताको स्कुटर थेग्न सक्थ्यो । जान्दै नजानी सिक्न छोडियो । दैनिक दुइवटा गाडि फेरेर अफिस पुग्दा लामै यात्रा पछि घर पुगेको जस्तो लाग्थ्यो । त्यसैले पनि अब स्कुटर नकिनि हुन्न भन्ने विचार बलियो हुँदै गयो । अझ कैले काहिँ घण्टौँ कुर्दापनि घर पुग्ने गाडि नपाएर दार्इृ वा भाउजुलाई लिन बोलाउनुपर्दा त अब चाहिँ नकिनी हुन्न जस्तो लागि हाल्छ । 
कैले काहिँ आधा घण्टाको बाटो लखर लखर हिँडेर आउनुपर्दा बाटाभरी स्कुटर महिमा गाउँदै आउनुपर्छ । अब त किन्नुपर्छ भन्न थालेको नी ४ वर्ष भइसक्यो । तर किन्ने दिन अझै जुरेन । हिजो आज भेटेका जति सबै जसोले स्कुटर किन्ने सल्लाह दिन्छन् । तर खै के नमिलेको के नमिलेको । मेरो स्कुटर किन्ने कहानीपनि छेपारोको उखान जस्तै भो । झन अचेल त पेट्रोलको भाउ लौका बढ्या जस्तो बढ्या देख्दा कसरी पाल्नु त्यो दुइ पांग्रेलोई जस्तो लाग्छ । जागिर यहि हो । आमा स्कुटरमा तेल हाल्नु पर्यो पैसा दिनुन भन्नुपर्यो भने हेर विजोग । बाले फेरि लोकसेवाको जाँच दिन करकर गर्नुहोला भन्ने पिर । उफ !! 
 झण्डै एक वर्ष अघि एकजना दिदीले "नानी अब त स्कुटर किन" भन्नुभाथ्यो । सजिलोसँग जवाफ फर्काइयो "दिदी घर पछाडिको भोगटेको बोटमा स्कुटर फल्दैन ।" वित्थामा भनिएछ नी !! दिदी अझै नि जिस्काउनुहुन्छ "नानी फलेन स्कुटर" ?? अहँ दिदी फलेन अझै फल्ने दिन आको रैनछ । 

1 comment:

  1. अब त फलिसक्यो भन्या होइन र ? खालि त्यसलाई टिपेर खान बाँकी होला नि । कहिले खाने हहो त धित मर्ने गरी ?

    ReplyDelete