Monday, July 13, 2015

नोस्टाल्जीया

असार २६ गते विहान आँखा खुलेको पनि थिएन शिरानी छेउको मोबाइल झुइँ झुइँ गर्यो, केहिको नोटिफिकेसन थियो । निन्द्रामै मोबाइल तानेँ र हेरेँ आँखा मिच्दै । फेसबुकमा सुशील राउत -क्यापिटल एफएमका संस्थापक,संचालक ) ले केहि कुरामा ट्याग गरेको भनेर जानकारी दिएका रछन् जुकर्रबर्ग काकाले । "हृया दाई काम पाउँदैनन व्यान व्यान के मा ट्याग गरे ।" वास्ता गरीन । फेरी सोचेँ दाईले नचाइने कुरामा त ट्याग गर्दैनन् । फेरी हेरेँ के रैछ । असार २६ क्यापिटल एफएमको ९ वौँ वार्षिकोत्सबको अवसर पारेर दाईले एफएम स्थापना ताका जोडिएका म लगायत केहि साथीहरुलाई ट्याग गर्नुभएको रहेछ । फिसिक्क हाँसे । दिमाग घुम्न थाल्यो । क्यापिटल एफएम छोड्दाको दिन म कति खुशी थिएँ । अलिकति रेडियोको प्रशासन प्रति आक्रोस, अलिकति माया साथीभाई प्रतिको, रेडियो उद्घाटनको दिन तल्लो तल्लामा बसेर पुलाउ खाएको, रुघा खोकीले चुर हुँदा पहिलो पल्ट अनएयर भएको सब एक एक गर्दै मष्तिस्कमा घुम्न थाले । सोचेँ रेडियोमा बोल्न नछोडेको भए ९ वर्ष पुग्ने रैछ । अनि फेरी फिस्स हाँसे आफैसित । रेडियो काठमाडौँ (अनलाइन रेडियो ) जुन कसैले सुन्छन् सुन्दैनन पनि थाहा थिएन । त्यसमा आफु बोल्न पाउँदा पनि संसार जिते जस्तो लाग्थ्यो । रेडियो कान्तिपुरमा आफ्नो काम इन्जोय गर्दा गर्दै मैले कुन शनकमा रेडियो छोडेँ आफैसित प्रश्न गरेँ । अनि फेरी फर्कीएँ तिनै रेडियोहुडका दिनतर्फ।
त्यो माइक्रोफोन स्टुडियो भित्र माथि शिलिंगबाट तानिएको डोरीमा बाँधिएको, त्यो कुचुक्क परेको रेकडिं
स्टुडियो, न्युज रुम, क्यापिटल एफएमका यी सब कुराहरु सम्झीँदा खुशीको संचार अहिलेपनि हुन्छ  भलै त्यहाँ काम गर्दाका अनुभव मिठा भन्दा शायद तिता बढी छन् ।
तितानै सहि अहिले सम्झीँदा के मात्र गरिएन हाव जस्तो लाग्ने । न्युजरुममा ५ /६ जनाको टोली । विहानको सिफ्ट साढे ५ देखि सुरु हुन्थ्यो । रेडियोको गाडि थिएन । घरबाट गाडि चढ्न कौशल्टार पुग्नु पर्ने । विहान साढे चार बजे उठ्यो अनि नित्यकर्म सकेर कुद्यो । झण्डै २५ मिनेटको बाटो पार गरेपछि कौशल्टारमा टेम्पो चढ्नु पर्थ्यो । टेम्पो मान्छे पाए कुदाउँथ्यो नपाए कुरेर बस्नुपर्थ्यो । कहिलेकाहिँ साढे ५ त कौशल्टारमै हुन्थ्यो । टेम्पोलाई के थाहा मेरो हतार उ आफ्नै रफ्तारमा हुन्थ्यो । बानेश्वरमा टेम्पोबाट उत्र्पछि Standard Chartered  बैंक अगाडि अन्नपुर्ण पोष्ट कान्तिपुर जे पाइन्छ किन्यो अनि तुफान कुद्यो थापागाउँ स्थित रेडियोमा । न्युजरुमको ढोका खुल्न पाउँथेन हामी पत्रीका फिँजाएर बगरेले मासु काटे जस्तो छुराले पत्रीका काट्न थाल्थ्यौँ । कहिले काँहि  त काट्न भ्याइन्नथ्यो । सिंगै पत्रीका लगेर पढ्न पर्थ्यो । विहान त्यसरी कुदेर अफिस जाने क्रममा एनसेलको गल्लि प्रयोग गर्थेँ । कतिपल्ट गाइले लखेट्यो लखेट्यो ।
समाचार शाखामा काम गर्ने अरुको अनुभव कस्तो रहृयो थाहा छैन । तर मैले भने त्यहाँ हाँसेर समाचार पढेको अनुभव पनि छ र रोएर पनि । जब समाचारको समय हुन्थ्यो तब कहिले प्रीन्टरमा टोनर सकिन्थ्यो, कहिले पेपर सकिएर प्रीन्ट गर्न पाइँदैनथ्यो । बेलुका ६ बजेको क्यापिटल खबर कैले काहिँ प्रीन्टरले धोका दिँदा म्याराथनमा कुदेको धावक जस्तो औँला दौडाउनु पर्थ्यो सादा पन्नामा । अन्तिम समयमा त्यस्तो भएको देख्नका लागि कोहि हुन्थेनन् हाकिमहरु । समाचार पढ्दा छिसिक्क गल्ति भयो भने चाहिँ न्युजरुमको घण्टी बजिहाल्थ्यो ।  रेडियो संचालन सुरु भएको कति पनि भएको थिएन खै कुन्नी के कुरामा आन्दोलन पनि गरियो । त्यस ताका सुशील दाइले अफिस रुममा राखेर सम्झाउँदा धरधरी आँसु झारेर रोएको पनि बिर्सेको छैन J
एक पल्ट हिम विष्ट दाई र म १२ बजेको समाचार पढ्न स्टुडियो छिरेको । शायल लिड मैले गरेको थिएँ । दाजु मेरो दाहिनेमा हुनुहुन्थ्यो अझै याद छ । म समाचार पढि सकेर दाइनेतिर सार्थेँ दाई मैले पढिसकेको समाचार पढ्नुहुन्थ्यो । ४ । ५ वटा समाचार दोहोरिएपछि याद भयो पुरा समाचार बोकेर स्टुडियो छिरिएनछ । J
अर्को पल्ट समाचार पढ्न स्टुडियो छिरेको अर्को रमाइलो कुरो भयो । समाचार पढ्न कुर्सीमा बसेँ । हाइट सानो भएकाले अलि अग्लो चाहिन्थ्यो माइक भेट्टाउन । अग्लो कुर्सी तानेर बसियो । समाचार पढ्दै जाँदा महसुस भयो म तल तल सर्दैछु । एकछिनमा कुर्सी एकापटि ढल्किएको थाहा पाएँ र म भुइँमा बसेँ । भर्ुइमा पुग्दा सम्म पनि मैले समाचार पढ्न भने छोडेको थिइन । तब पनि मेरो आवाजमा कुनै परिवर्तन आएन तर समाचार पढ्दा पढेदै लढेँ भन्ने महसुस भएपछि आवाजमा हाँसो मिसिएको थियो ।
क्यापिटल एफएम छँदा समाचार बाहेक अन्य कार्यक्रम पनि संचालन गरियो । आफ्नो भागको कार्यक्रम पर्यटन सम्बन्धि अन्लीस नेपाल र एउटा बाल कार्यक्रम मात्र भएपनि कहिले समाचार सक्किने त्रित्तिकै कार्यक्रम प्रस्तोत ाबनेर ग्रीहिणीका लागि कार्यक्रम संचालन गरियो त कहिले विहान विहान सुनको विहान कि खै कुनी के कार्यक्रम चलाइयो । अहिले सम्झीँदा हाँसो लाग्छ ।
पत्रकारिता विषय लिएर अध्ययन गरेपनि पत्रकारिकाका व्यवहारिक पक्षबारे खासै ज्ञान थिएन जुन क्यापिटल एफएमले सिकायो ।  भोकै काम गर्न, रित्तो खल्ति हुँदा पनि शानले हाँस्न सिकायो रेडियोले, अरु भन्दा पनि बोल्न सिकायो , आवाज उठाउन सिकायो र दिक्क लागुन्जेल सम्म एउटै ठाउँ बसीरहन हुन्न चाहे त्यो जतिसुकै राम्रो किन नहोस ।
क्यापिटलमा प्रवेश गर्नु अगाडि कान्तिपुरमा जाने मेरो प्रयास विफल भएको थियो । झण्डै डेड वर्ष क्यापिटलमा अनुभव संगालेपछि कान्तिपुरमा प्रवेश गर्ने ढोका खुल्यो । भन्नेहरुले त अझै भन्छन टिभिमा दाजु भएकाले कान्तिपुर जान सहज भयो । नछोडुन्जेल सम्म रुबिना भन्दा पनि  रुपेशको बहिनी भनेर चिन्ने धेरै थिए । शायद होला पनि दाजुकै कारण रेडियोमा थिएँ म । तर मेरा दाजु कहिले मेरा लागि रिपोर्टिग गइदिएनन् , दाजुले कहिले मेरो सट्टा समाचार पढ्दीन आएनन्, दाजुले कहिले मेरो लागि रिपोर्ट लेखिदिएनन् , दाजुले कहिले मेरो लागि समाचार लेखिदिन कान्तिपुर आइदिएनन् J
रमा सिहंले जस्तो समाचार वाचन गर्ने रहर अझै कायमै छ । रेडियोमा बोल्ने रहर मेटिएको छैन । आफ्नो आवाज स्रोतालाई सुनाउन भन्दा पनि आफ्नै रहर पुरा गर्न कुनैदिन फेरी फर्कीन सक्छु रेडियोको दुनियामा । मलाई यतिसम्म बन्न प्रेरित गर्ने क्यापिटल एफएम परिवार र कान्तिपुर प्रती म सँधै आभारी रहनेछु J






Sunday, April 19, 2015

केटी जिस्काउने कुन तत्व हुन्छ केटामा ?

कैले काहिँ मलाई पुल्चोक वा रत्नपार्कको ओभरहेड ब्रिजमाथि बसेर सिटि बजाउँदै केटा जिस्काम जस्तो लाग्छ, कैले लाग्छ बाटो हिन्दै गर्दा अगाडि हिन्दै गरेको केटालाई कागजको डल्लो बनाएर हानुम, छिर्की हानेर लडाइदिम वा धक्का दिम तर अहँ अहिलेसम्म यसो गरेको छैन । यस्तो मलाई लागेको मात्र हो । यसरी जिस्काएपछि मलाई कस्तो अनुभुति होला भनेर जान्न मात्र मन लागेको हो खासमा । अरु क्यै होइन । साँच्चै भन्नुपर्दा बाटोमा हिन्ने, गाडिमा उभिने, बस्ने वा कुनै पनि सार्वजनिक स्थानमा रहेका महिला तथा किशोरीहरुलाई जिस्काउँदा पुरुष प्रजातिका मान्छेहरुलाई कस्तो फिल हुन्छ ? उनीहरुलाई र हामीलाई हुने फिल फरक होला त भन्ने जान्नको लागि मलाई पनि त्यसरी जिस्काम जस्तो लागेको मात्र हो । तर त्यो आँट म मा कहिले आएन । शायद कहिले जिस्काउन्न पनि । केटिलाई केटाले जिस्काउँदा उसलाई जस्तो हुन्छ शायद केटालाई केटिले जिस्काउँदा पनि त उसलाई उस्तै होला नी अप्ठ्यारोको हिसाबले मनमा यस्तै कुरा आउँछ ।
यो लेख्नु अघि मैले मेला केहि केटा साथीहरुलाई सोधेँ कहिले केटी जिस्काएको छ ? केहिले छ भने केहिले छैन । छ भन्नेहरुलाई फेरी सोधेँ । किन जिस्काउँथ्यौ ? जिस्काएपछि कस्तो फिल गर्थ्यौ ? उनीहरुको सामान्य जवाफ जस्ट टाइम पासको लागि , रमाइलो गर्न जिस्काउँथ्यौँ , अरु केहि थेन । केहिलाई सोधेँ दिदी बहिनीसँग हुँदा कसैले उनीहरुलाई जिस्कायो भने के गर्छस - जान्छु नी गोद्न । कस्तो हास्यास्पद कुरा । त्यहि काम आफुले गर्दा भने रमाइलो अरुले गर्दा भने रिस उठ्दो ।
मलाई अझैपनि मेरो किशोरावस्थाका केहि घटनाहरु याद छ जतिबेला म  एक्लै स्कुल जान आउन धकाउँथेँ । एक्लै पानी लिन जान डराउँथे । स्कुल २० । २५ मिनेट हिँडेर पुगिन्थ्यो तर पनि धेरै जस्तो स्कुल एउटै समयमा छुट्ने र लाग्ने भएकाले एउटै बाटो प्रयोग गर्न पर्थ्यो । जस्ले गर्दा बाटोमा हिन्दा आफुसँग बहिनीहरु भयो भने मलाई सजिलो लागथ्यो । उनीहरुसँग गफ गर्दै घर पुग्दा कसैले जिस्काओस केहि भनोस केहि मतलब लाग्दैन थियो । तर कुनै दिन उनीहरु छैनन् भने मलाई घरदेखि स्कुल पुग्न पार गर्नु पर्ने दुइवटा पुल नआइदिए हुन्थ्यो जस्तै लाग्थ्यो ।

स्कुलबाट घर पुगेर खाजा खाइवरी पानी लिन अझै टाढा जानु पर्थ्यो जुन झन महाभारत लाग्थ्यो । घरबाट धारा पुग्न १५ मिनेट जति लाग्ने बीचमा फुटबल चौर । खेल रोकेर बाटोमा हिन्ने हामीलाई जिस्काउन तिर लाग्थे । कुनै दिन पानी लिन जानु नपर्दा यद्धमा जानु नपरेको जस्तो लाग्थ्यो । एक्लै जानु पर्दा एक्लै युद्धमा गए जस्तो । म आफुलाई यित्रो भुन्टि छु सानी मसिनी कसैले जिस्काउन्नन् भन्थेँ तर होइन रहेछ जस्तो लाग्यो नी । दुइ खुट्टामा उभेको देख्नु पर्छ मान्छेले बच्चादेखि बुढी कसैलाई बाँकी राख्दैनन जस्तो लाग्यो ।
जिस्काउने नजिस्काउने प्रशंगमा याद आयो एक दिन अफिसबाट घर जाँदै थिएँ शंखमुलको साँघुरो पुलमा स्कुटर बिस्तारै पार हुँदै थियो । विपरित दिशाबाट आएको बाइकको मान्छेले म नजिकै आएर चोसो पसारेर जिस्कायो । रनक्क रन्किए जिब्रो निकालेर केटाकेटीलाई जस्तो जिस्काइदिएँ उल्टो । यस्ता घटनाहरु हामी केटीहरुका लागि सामान्य प्राय हुन । प्रतिक्रिया जनायौँ भने त्यो हाम्रा लागि ठूलो उपलब्धि भइदिन्छ ।
म कहिले काहिँ सोच्छु केटीले छोटो लुगा लगाएको देख्दा केटालाई जिस्काउन, दुर्व्यवहार गर्न प्रेरणा मिल्छ भने केटीलाई पनि त केटाले छोटो लुगा लगाएको देखेपछि जिस्काउन, दुर्व्यवहार गर्न मन लाग्नु पर्ने हो नी होइन ? म र मेरा साथीहरु किन बाटोमा हिन्ने केटाहरुलाई जिस्काउन्नौँ ? बाटोमा सवारी जाम परेको बेरा छेउको बाइक वालालाई किन म घुरेर हेर्दीन जसरी अर्को बाइक वालाले मेरो शिरदेखि पाउ सम्म हेर्छ । मलाई किन कोहि केटा देखेर उसलाई चोसो पसारेर जिस्काउँ जस्तो लाग्दैन । पुरुष प्रजातिका मान्छेमा आखिर कुन तत्व हुन्छ जस्ले गर्दा उसलाई महिला देख्दा जिस्काउन मन लाग्छ वा उसको अन्तरआत्माले उस्लाई भन्छ जा त्यो केटीलाई जिस्का । त्यस्तो के चाहिँ हुन्छ उसमा जस्ले सवारी साधनमा महिलालाई धक्का दिन नियतबस गोप्य अंगमा छुन तथा हेर्न उक्साउँछ । आखिर उसमा कुन कुरा छ जुन कुराले आफ्नै पारिवारिक नाता भित्र पनि यौन दुर्व्यवहार गर्न प्रेरित गर्छ ।
भन्नुहोला यहाँको सामाजिक संरचनाले केटीलाई लजालु बनाएको छ नी त । उनीहरुको स्वभावले केटालाई जिस्काउन दिँदैन । त के यहाँको सामाजिक संरचनाले केटालाई गतिछाडा हुन सिकाएको छ - यहाँको सामाजिक संरचनाले केटालाई आफ्नै दिदी बहिनी समानका महिला किशोरीहरुलाई दुर्व्यवहार गर्न सिकाएको छ ? यहाँको सामाजिक संरचनाले केटाहरुलाई आफ्नै दिदी बहिनीहरुमाथि यौन दुर्व्यवहार गर्नुपर्छ भनेको छ ? सामाजिक संरचनाले नैतीकता भन्ने कुरा केटाहरुलाई कत्ति पनि सिकाएको छैन त त्यसो भए ?
सबै केटाहरुलाई एउटै डोकोमा राखेर हेर्न पक्कैपनि मिल्दैन । यो लेख पढ्ने कतिपय सज्जन वृन्दहरुले माथि उल्लीखित गतिविधि गर्नुभएको होला वा नगर्नुभएको होला । हल्का रमाइलो वा टाइम पासको लागि मात्रको रुपमा पनि कसैलाई जिस्काउने गर्नुभएको छ भने उसको स्थानमा आफुलाई राखेर हेरौँ आफ्नो दिदी, बहीनी, श्रीमती, गर्लफ्रेण्ड , छोरीलाई राखेर हेरौँ अनि सोचौँ त्यतिबेला तपाईलाई कस्तो अनुभुति हुन्छ ।
अहिले Anti street harassment  को सप्ताह चलीरहेको छ । थुप्रै कार्यक्रमहरु भइरहेका होलान् । कति र्याली भइरहेका होलान् । But make sure यो कार्यक्रममै पनि कतै महिला तथा किशोरीमाथि हिंसा त भइरहेको छैन जाँनिदो वा नजाँनिदो पारामा .


 http://setopati.com/blog/26952/

Tuesday, March 24, 2015

उसले सुनेको समाज

च्याटमा ८ वर्षको  एउटा भाइले सोध्यो नपुंसक भनेको के हो ?
अक्क बक्क परेँ । कसले भन्यो ? मैले प्रतिप्रश्न गरेँ । उसले जवाफ खोज्यो । म एकछिन अलमलमा परेँ के भन्ने होला । दिमागमा मेन्स मार्चको चटारो थियो । नेपालमै पहिलो पटक हुन लागेको मेन्स मार्च । मिडियालाई बोलाउने जिम्मा मेरो टाउकोमा हाल्दिनु भाको थ्यो पियारो सञ्जोग दाइले । त्यै बीचमा खुसुक्क फेसबुकमा छिर्दा भाइले समात्यो र सोधिहाल्यो गार्हो प्रश्न । उसले फेरी सोध्यो । नपुंसक भनेकोे हो ?
अलमलेर भने ः "मेल र फिमेल मिक्स्ड ।" ऊ हाँस्यो । अनि सुरु भयो । "अब सुन मेरो कुरा । यो समाज नपुंसक हो । यो समाजले क्यै गर्न सक्दैन । यहाँ छोरी मान्छेहरु सुरक्षित छैनन् । छोरा मान्छेहरुले जे गरेपनि हुन्छ । यहाँ कसैलाई छोराको चिन्ता छैन छोराले जे गरेपनि हुन्छ ।"
 उसलाई रोकेर म बोल्न खोजेँ "नपुंसक नराम्रो शब्द हो ।" उसले उल्टो मलाई रोक्यो स्स्स्स्स् !!! "तिमी नबोल न एकछिन पख म बोल्छ । "अर्काको छोरीलाई जे गर्दा पनि हुन्छ । सब मान्छे नपुंसक हो । छोरा घरको इज्जत छोरी अर्काको इज्जत, यो नपुंसक समाजले कसैको क्यै गर्दैन । छोरालाई लगाम लाउ । छोरी त सेफ हुन्छ कमसे कम ।"
 म अवाक भएर बसेँ । यत्रो सानो बच्चालाई कसले सिकायो यस्तो कुरा । मैले सोधेँ "बाबुलाई कसले सिकायो यस्तो कुरा ।" "सिकाएन सुन्यो"- उसले भन्यो । "या बाहिर अरु मान्छे बोलेको सुन्यो ।" "रेपको कुरा गर्यो अनि त्यो कुरामा यस्तो बोल्यो । बाबुले गुगल गर्यो नपुंसक भनेको इपोटेन्ट रैछ अनि समाज भनेको सोसाइटि । That means impotent society "  उसले थप्यो तिमी जर्नलिस्ट हो तिमी यस्तो कुरा किन लेख्दैन यो त सिरियस कुरा हो । लेख्नु पर्छ नी ।  सबलाई aware गर्नु पर्छ । सबले छोरीलाई strict गर्छ । छोरीलाई पनि self defence को class मा पठाउनु पर्छ नी बाबु कराते जान्छ खोइ बाबुको class  कोइ girls छैन सब boys नै boys छ । म चप लागेर उसले च्याटमा पठाएका कुरा पढेर बसेँ । उसको अन्तिम आग्ह मेरो लागि थियो । तिम्रो मेन्स मार्च राम्रो क्याम्पेन हो बट बाबु अण्डर 18 हो आउन पाएन । next time देखि age barrier  नराख । "
म रणभुल्लमा परेँ एकछिन भर्खरै मसँग बोलेर गएको बच्चा हो कि कोहि ठूलो मान्छे । मैले एकै पलमा एउटा सानो ८ वर्षको  बच्चाको दिमागमा समाज प्रतिको दृष्टिकोण देखेँ । जुन नकारात्मक हो । उसले समाजलाई नपुंसक भनेर बुझ्यो । उसले यो पनि बुझ्यो कि छोरीहरुको लागि समाज सुरक्षित छैन र उनीहरुलाई सुरक्षित तुल्याउन आत्मरक्षाका सिपहरु सिकाउनु आवश्यक छ । तर फेरी मैले एकै छिनमा यो पनि बझेँ छोरी मान्छेहरु प्रति उसको द्रीष्टीकोण । कम्तिमा उसको सानो मष्तिष्कमा छोरीहरुलाई सम्मान गर्नुपर्छ भन्ने भावना त बस्यो । अलमलमै सोचेँ ऊ सानो छ । सुनेको भरमा उसले यी कुराहरु मलाइ सुनायो । आज जुन कुरा उसले मलाई भन्यो के ती कुरो उसले जब भोली उ किशोर अवस्थामा पुग्छ त्यतिबेला सम्म पनि सम्झीरहला ?? के जब ऊ भोली वयस्क हुन्छ उसले बाटोमा हिन्ने केटी नजिस्काउला । के गर्ला ?? यी कुरा नबिर्सीदिए हुनेनी भन्ने कुरा अझैपनि लागिरहेछ सायद बिर्सीदैन होला । नबिर्सीयोस पनि ।