Monday, July 13, 2015

नोस्टाल्जीया

असार २६ गते विहान आँखा खुलेको पनि थिएन शिरानी छेउको मोबाइल झुइँ झुइँ गर्यो, केहिको नोटिफिकेसन थियो । निन्द्रामै मोबाइल तानेँ र हेरेँ आँखा मिच्दै । फेसबुकमा सुशील राउत -क्यापिटल एफएमका संस्थापक,संचालक ) ले केहि कुरामा ट्याग गरेको भनेर जानकारी दिएका रछन् जुकर्रबर्ग काकाले । "हृया दाई काम पाउँदैनन व्यान व्यान के मा ट्याग गरे ।" वास्ता गरीन । फेरी सोचेँ दाईले नचाइने कुरामा त ट्याग गर्दैनन् । फेरी हेरेँ के रैछ । असार २६ क्यापिटल एफएमको ९ वौँ वार्षिकोत्सबको अवसर पारेर दाईले एफएम स्थापना ताका जोडिएका म लगायत केहि साथीहरुलाई ट्याग गर्नुभएको रहेछ । फिसिक्क हाँसे । दिमाग घुम्न थाल्यो । क्यापिटल एफएम छोड्दाको दिन म कति खुशी थिएँ । अलिकति रेडियोको प्रशासन प्रति आक्रोस, अलिकति माया साथीभाई प्रतिको, रेडियो उद्घाटनको दिन तल्लो तल्लामा बसेर पुलाउ खाएको, रुघा खोकीले चुर हुँदा पहिलो पल्ट अनएयर भएको सब एक एक गर्दै मष्तिस्कमा घुम्न थाले । सोचेँ रेडियोमा बोल्न नछोडेको भए ९ वर्ष पुग्ने रैछ । अनि फेरी फिस्स हाँसे आफैसित । रेडियो काठमाडौँ (अनलाइन रेडियो ) जुन कसैले सुन्छन् सुन्दैनन पनि थाहा थिएन । त्यसमा आफु बोल्न पाउँदा पनि संसार जिते जस्तो लाग्थ्यो । रेडियो कान्तिपुरमा आफ्नो काम इन्जोय गर्दा गर्दै मैले कुन शनकमा रेडियो छोडेँ आफैसित प्रश्न गरेँ । अनि फेरी फर्कीएँ तिनै रेडियोहुडका दिनतर्फ।
त्यो माइक्रोफोन स्टुडियो भित्र माथि शिलिंगबाट तानिएको डोरीमा बाँधिएको, त्यो कुचुक्क परेको रेकडिं
स्टुडियो, न्युज रुम, क्यापिटल एफएमका यी सब कुराहरु सम्झीँदा खुशीको संचार अहिलेपनि हुन्छ  भलै त्यहाँ काम गर्दाका अनुभव मिठा भन्दा शायद तिता बढी छन् ।
तितानै सहि अहिले सम्झीँदा के मात्र गरिएन हाव जस्तो लाग्ने । न्युजरुममा ५ /६ जनाको टोली । विहानको सिफ्ट साढे ५ देखि सुरु हुन्थ्यो । रेडियोको गाडि थिएन । घरबाट गाडि चढ्न कौशल्टार पुग्नु पर्ने । विहान साढे चार बजे उठ्यो अनि नित्यकर्म सकेर कुद्यो । झण्डै २५ मिनेटको बाटो पार गरेपछि कौशल्टारमा टेम्पो चढ्नु पर्थ्यो । टेम्पो मान्छे पाए कुदाउँथ्यो नपाए कुरेर बस्नुपर्थ्यो । कहिलेकाहिँ साढे ५ त कौशल्टारमै हुन्थ्यो । टेम्पोलाई के थाहा मेरो हतार उ आफ्नै रफ्तारमा हुन्थ्यो । बानेश्वरमा टेम्पोबाट उत्र्पछि Standard Chartered  बैंक अगाडि अन्नपुर्ण पोष्ट कान्तिपुर जे पाइन्छ किन्यो अनि तुफान कुद्यो थापागाउँ स्थित रेडियोमा । न्युजरुमको ढोका खुल्न पाउँथेन हामी पत्रीका फिँजाएर बगरेले मासु काटे जस्तो छुराले पत्रीका काट्न थाल्थ्यौँ । कहिले काँहि  त काट्न भ्याइन्नथ्यो । सिंगै पत्रीका लगेर पढ्न पर्थ्यो । विहान त्यसरी कुदेर अफिस जाने क्रममा एनसेलको गल्लि प्रयोग गर्थेँ । कतिपल्ट गाइले लखेट्यो लखेट्यो ।
समाचार शाखामा काम गर्ने अरुको अनुभव कस्तो रहृयो थाहा छैन । तर मैले भने त्यहाँ हाँसेर समाचार पढेको अनुभव पनि छ र रोएर पनि । जब समाचारको समय हुन्थ्यो तब कहिले प्रीन्टरमा टोनर सकिन्थ्यो, कहिले पेपर सकिएर प्रीन्ट गर्न पाइँदैनथ्यो । बेलुका ६ बजेको क्यापिटल खबर कैले काहिँ प्रीन्टरले धोका दिँदा म्याराथनमा कुदेको धावक जस्तो औँला दौडाउनु पर्थ्यो सादा पन्नामा । अन्तिम समयमा त्यस्तो भएको देख्नका लागि कोहि हुन्थेनन् हाकिमहरु । समाचार पढ्दा छिसिक्क गल्ति भयो भने चाहिँ न्युजरुमको घण्टी बजिहाल्थ्यो ।  रेडियो संचालन सुरु भएको कति पनि भएको थिएन खै कुन्नी के कुरामा आन्दोलन पनि गरियो । त्यस ताका सुशील दाइले अफिस रुममा राखेर सम्झाउँदा धरधरी आँसु झारेर रोएको पनि बिर्सेको छैन J
एक पल्ट हिम विष्ट दाई र म १२ बजेको समाचार पढ्न स्टुडियो छिरेको । शायल लिड मैले गरेको थिएँ । दाजु मेरो दाहिनेमा हुनुहुन्थ्यो अझै याद छ । म समाचार पढि सकेर दाइनेतिर सार्थेँ दाई मैले पढिसकेको समाचार पढ्नुहुन्थ्यो । ४ । ५ वटा समाचार दोहोरिएपछि याद भयो पुरा समाचार बोकेर स्टुडियो छिरिएनछ । J
अर्को पल्ट समाचार पढ्न स्टुडियो छिरेको अर्को रमाइलो कुरो भयो । समाचार पढ्न कुर्सीमा बसेँ । हाइट सानो भएकाले अलि अग्लो चाहिन्थ्यो माइक भेट्टाउन । अग्लो कुर्सी तानेर बसियो । समाचार पढ्दै जाँदा महसुस भयो म तल तल सर्दैछु । एकछिनमा कुर्सी एकापटि ढल्किएको थाहा पाएँ र म भुइँमा बसेँ । भर्ुइमा पुग्दा सम्म पनि मैले समाचार पढ्न भने छोडेको थिइन । तब पनि मेरो आवाजमा कुनै परिवर्तन आएन तर समाचार पढ्दा पढेदै लढेँ भन्ने महसुस भएपछि आवाजमा हाँसो मिसिएको थियो ।
क्यापिटल एफएम छँदा समाचार बाहेक अन्य कार्यक्रम पनि संचालन गरियो । आफ्नो भागको कार्यक्रम पर्यटन सम्बन्धि अन्लीस नेपाल र एउटा बाल कार्यक्रम मात्र भएपनि कहिले समाचार सक्किने त्रित्तिकै कार्यक्रम प्रस्तोत ाबनेर ग्रीहिणीका लागि कार्यक्रम संचालन गरियो त कहिले विहान विहान सुनको विहान कि खै कुनी के कार्यक्रम चलाइयो । अहिले सम्झीँदा हाँसो लाग्छ ।
पत्रकारिता विषय लिएर अध्ययन गरेपनि पत्रकारिकाका व्यवहारिक पक्षबारे खासै ज्ञान थिएन जुन क्यापिटल एफएमले सिकायो ।  भोकै काम गर्न, रित्तो खल्ति हुँदा पनि शानले हाँस्न सिकायो रेडियोले, अरु भन्दा पनि बोल्न सिकायो , आवाज उठाउन सिकायो र दिक्क लागुन्जेल सम्म एउटै ठाउँ बसीरहन हुन्न चाहे त्यो जतिसुकै राम्रो किन नहोस ।
क्यापिटलमा प्रवेश गर्नु अगाडि कान्तिपुरमा जाने मेरो प्रयास विफल भएको थियो । झण्डै डेड वर्ष क्यापिटलमा अनुभव संगालेपछि कान्तिपुरमा प्रवेश गर्ने ढोका खुल्यो । भन्नेहरुले त अझै भन्छन टिभिमा दाजु भएकाले कान्तिपुर जान सहज भयो । नछोडुन्जेल सम्म रुबिना भन्दा पनि  रुपेशको बहिनी भनेर चिन्ने धेरै थिए । शायद होला पनि दाजुकै कारण रेडियोमा थिएँ म । तर मेरा दाजु कहिले मेरा लागि रिपोर्टिग गइदिएनन् , दाजुले कहिले मेरो सट्टा समाचार पढ्दीन आएनन्, दाजुले कहिले मेरो लागि रिपोर्ट लेखिदिएनन् , दाजुले कहिले मेरो लागि समाचार लेखिदिन कान्तिपुर आइदिएनन् J
रमा सिहंले जस्तो समाचार वाचन गर्ने रहर अझै कायमै छ । रेडियोमा बोल्ने रहर मेटिएको छैन । आफ्नो आवाज स्रोतालाई सुनाउन भन्दा पनि आफ्नै रहर पुरा गर्न कुनैदिन फेरी फर्कीन सक्छु रेडियोको दुनियामा । मलाई यतिसम्म बन्न प्रेरित गर्ने क्यापिटल एफएम परिवार र कान्तिपुर प्रती म सँधै आभारी रहनेछु J






No comments:

Post a Comment