Thursday, July 14, 2016

मृत्यु जितेेर फर्किँदा !


जुन लाग्न भुलेको निक्खर कालो रात, झरीको मौसम वरण्डामा पानीका थोपाहरु एक तमासले बज्दैछन् तप तप तप तप । मकैबारीबाट मकैका पात अनि अलि परको गोठमा जस्ताको छाना बजेको तड्कारो सुनिँदैछ । म निदाउने हर सम्भव प्रयास गर्दैछु तर सकेको छैन । खे के ले कुन्नि निदाउन दिएकै छैन । आँखा बन्द गर्छु  चारैतिर उज्यालो हुन्छ आँखा उघार्छु फेरी अँध्यारो । धेरै प्रयासका बाबजुद पनि निदाउन सकिन । आ होस सुत्दिन मनमनै सोचेँ । मलाई यो चुक घोप्टीएको जस्तो अँध्यारो रात पटक्कै मन परेको छैन । म आँखा बन्द गर्छु ।

ढकमक्क जुन फूल्यो । लाग्यो मै तिर हेरेर हात हल्लाइरहेको छ । प्रतिक्रिया स्वरुप म हाँसिदिएँ हात हल्लाउन त अल्छि लाग्यो । पानी परिनै रहेको छ । अघि भन्दा अलि ठूलो सायद । आवाजबाट अनुमान लगाउन सकिन्छ । जुनको उज्यालोको साहारामा परसम्म आँखा पुर्याएँ । उज्यालो झन गाढा भएर आयो । यहि उज्यालोमा मैले देखेँ कसैले मलाई बोलाइरहेछ । खै कुन्नि कसले पो हो हात हल्लाइरहेको छ आइज न भन्ने संकेतमा । जाउँ कि नजाउँ म दोधारमा परेँ । मैले आउँदिनको संकेतमा टाउको हल्लाएँ । फेरी बोलायो । सायद मलाई आकषिर्त गर्न केहि देखायो । के देखायो यकिन भन्न सक्दिन । अब म तानिएँ ऊ तिर । मनले जान मानिरहेको छैन तर गोडाका चाल उतर्फ लम्किँदैछन् । म रोकिन प्रयास गर्दैछु तर मेरा खुट्टा झन उ तिर लम्किँदैछन् । मानौँ म कुनै म्याराथन वाकाथनको प्रतिस्पर्धि हुँ र मैले जित्नुपर्छ । एकै निमेषमा म पुगेँ ऊ भए ठाउँमा । अचम्म मलाई बोलाउने त मेरो साथी जो धेरै अगाडि हामी सबलाई छोडेर गैसकेको थियो ऊ पो रहेछ । म अवाक् । आवाज हरायो मेरो । के बोल्ने के नबोल्ने मेसो पाउन सकिन । कस्तो अचम्म यतिका वर्षअगाडि मरेको मान्छे अहिले अचानक यो रातमा कसरी यहाँ ? मन मनै सोचेँ तर सोध्ने हिम्मत आएन । ऊ भने निश्चल हाँसो हाँस्दै थियो । मलाई भने मुटुमा कतै गाँठो परे जस्तै भयो । कसैले छातिमा थिचे जस्तो कस्तो अप्ठ्यारो । म अझै बोल्न सकिन । म सपनामा छु कि विपनामा ? आफैलाई चिमोटेर पत्ता लगाउने होस पनि आएन । के छ ? अचानक उसले सोध्यो । ठिक छस् ? प्रश्नहरु एक एक गर्दै खस्न थाले । घर, परिवार, काम, व्यस्तता एक एक गर्दै उसले सब सोधि भ्यायो । मेरो जवाफको कुनै प्रतिक्षा नगरी । मैले जवाफ दिएँ दिइन समेत पत्तो पाइन मैले । ओठहरु चलमलाए झैँ लाग्छ । घाँटिबाट आवाज निस्कियो निस्किएन त्यो भने थाहा पाइन । उसको हाँसोको सट्टामा मैले पनि हाँसो नै फर्काँए झै लाग्छ तर उसले त्यो देख्यो कि देखेन त्यो पनि थाहा पाइन । उसले आफ्नो र मेरा केहि आत्मियहरुको ख्याल राखेस है भन्ने भावको हाँसो मुस्कुरायो । उस्तै निश्चल ।
वरपर हेर्छु जुन उज्यालोको साहारमा म यहाँ आएको थिएँ त्यस्तो उज्यालो त छैन । म कुनै नयाँ ठाउँमा पुगेँ कि जस्तो लाग्यो तर कुन ठाउँ पुगेँ त खै । यति शितल मलाई कहिले आभास भएको थिएन । लाग्यो म जूनकै समिपमा छु । ताराहरु मेरा हातका दश औँलामा नाचिरहेका छन् । म बादलहरुको बीचबाट मेरो ठाउँ मेरो शहर मेरो घर मेरो कोठा मेरा आफ्ना मेरा आत्मियहरु नियालिरहेको छु ।
मेरो साथी भने फर्किसकेछ ।  जान्छु पनि भनेन साले । पहिले पनि जान्छु नभनि गयो । फेरी आउलास । मनमनमनै सोचेँ ।
फेरी एैँठन जस्तो भयो । छातिमा कुनै भारी वस्तुले थिचे जस्तो ।  चलमलाउन खोजेँ सकिन । शरिर पुरै शिथिल छ । आँखा खोल्न खोजेँ त्यो पनि सकिन । कल्यांग मल्यांग आवाज सुन्छु त यहि हो ठम्याउन फेरी पनि गार्हो पर्यो । छातिमा फेरी कसैले बेस्मरी थिचेको जस्तो भयो । मकैका पातहरु, गोठको जस्ता केहि पनि बजेको छैन । कसैले बोलाइरहेको जस्तो आवाज सुन्दैछु । कोहि रोइरहेको जस्तो आवाज सुन्दैछु । बारम्बार र्फक आउ भन्दै रोइरहेको आवाजले म कतै हराइरहेछु भन्ने आभास मलाई भइसकेको थियो । तरपनि म फर्के भन्न सकिरहेको छैन । आँखाबाट आँसु त झर्यो तर आँसु बोलेन । आँसुले म फर्किन्छ भनेन न त फर्किँन्न नै भन्यो । एकोहोरो आवाज आइरह्यो आउ आउ आउ । निक्कै संर्घष गरेर आँखा अलिकति उघारेँ ट्युबलाइटको उज्यालो प्रकाश आँखामा पर्यो । मेरो आँखा, मेरै आँखा सामुन्ने सायद दुइ इन्चको दुरीमा रहेका एक जोडि आँखामा परे । मेरो ओठको कुना अलि माथि गाला सम्म पुग्न खोज्यो । मेरो आँखा माथिका आँखाबाट झरेको आँसु मेरो नाक हुँदै ओठमा । आँखाहरु बोले अब कतै जाने हैन म सँगै घर जाने बुझ्यौ । आज्ञाकारी छात्र जस्तै हुन्छ संकेतमा टाउको तलमाथि गर्दै हल्लाएँ । वरपर सेता लुगा लगाएका डक्टरहरु थिए । खुशी उनीहरुमा पनि कम थिएन । म फर्किएकोमा । म भने अझै अलमलमा छु । यहिँ त सुतेको थिएँ । कहाँ गाको थेँ र म । पानी परिरहेको थियो । मकैका पातहरु बजिरहेका थिए । अँध्यारो मन नपरेर आँखा बन्द गरेको निदाएछु । सब किन आत्तिएका होलान् । सोध्ने हिम्मत भने आएन ।
कपालमा हात सल्बलाए जस्तो भयो कुन बेला निदाएछु थाहै भएन । विहान नियमित औषधि दिन नर्स आइन । बधाइ दिँदै भनिन् तपाइँले नयाँ जीवन पाउनुभयो । हिजो त सबलाई तर्साउनुभयो नी । ओठको दुबै कुना अब भने दुबै पटिका गाला सम्म पुगे । झपक्क अँध्यारो भयो अनि फेरी उज्यालो । म हाँस्दा अलिकति बत्ति गए जस्तो हुन्छ क्या । :) :) 



No comments:

Post a Comment