Wednesday, April 18, 2012

माइक्रो माग

"आमा है नी मामाघरको बैनीको कस्तो नाम्रो फरक छ फुर्र परेको क्या । कस्तो राम्रो छ अनी कस्तो मज्जाले घुम्छ भन्या । हे..हे..हे.."
"हैनी आमा मलाई नी त्यस्तै फरक है आमा । भोलीनै सिलाइदिनु न क्या । आमा कस्तो हुनुहुन्छ भन्या तपाई अरुको लुगा भने भन्नी वित्तिकै सिलाइदिने मलाई चाहिँ सिलाइनै दिनुहुन्न । है आमा मलाई नी फरक फुर्र परेको ।"
कलंकीबाट बाल्कोट चल्ने माइक्रोमा आज (२०६९। १। ६ गते ) साँझ एउटी सानी नानीले आफ्नी हजुरआमासँग गरेको गुनासो हो यो ।
अक्सर साँझ अफिसबाट फर्किँदा म चढ्ने माइक्रोमा अनेकथरीका सम्वाद सुन्न पाइन्छ । कति चाखलाग्दा हुन्छन् कति दिक्क लाग्दा । के गर्नु सार्वजनिक यातायातमा आफुले भने जस्तो नहुने, गफ गर्नेलाई नगर भन्नुनी नहुने नत्र तिम्रा बाको गाडी हो र भनी हाल्छन् । त्यैभएर खासै वास्ता गरिन्नन् "माइक्रो सम्वाद"हरुलाई । आज भने त्यो तोते बोलीमा पोखिएको गुनासो निकै चाख मानेर सुनियो । करिब ५ वर्षकी नानीका अघिल्ला वाक्यमा खासै ध्यान दिएकी थिइन मैले । गाडि निकै भिड थियो त्यसैले पनि सकेसम्म आफुलाई सहज बनाउने ध्याउन्नमा मात्र थिएँ म । तर जब उनको पछिल्लो वाक्य सुने त्यसपछि अनायास हाँसो फुत्किएको पत्तै भएन । सानो मान्छेको कत्रो गुनासो भन्ने जस्तो लागयो । अनि पूरानो उखान सम्झिएँ "डकर्मिको घर भत्किएको हुन्छ , सिकर्मीको घरमा भर्याङ भाँच्चिएको हुन्छ" । खासमा म गाडिमा चढेपछि उनले आफ्नी हजुरआमा समक्ष राखेको यो तेस्रो माग थियो । खै म चढ्नुअघि अरु कति माग राखिसकेकी थिइन् । उनका अघिल्ला दुई माग भने पप र चप्पलको थियो । कोटेश्वर तिर पुग्दा उनको तोतेबोली सुन्न थालेको थिएँ । म भन्दा ठ्याक्कै अगाडिको सिटमा हजुरआमाको काखमा बसेकी उनले आमालाई कोट्याउँदै भनेकी थिइन् "आमा भोली विहान म चियासँग पप खान्छु है । मलाई भोलीदेखि सँधै चिया र पप दिनुस है आमा ।" आमा नबोलेपछि फेरी उनले कोट्याउँदै आमालाई आफ्नो प्रस्ताव स्वीकार्न वाध्य बनाईन "आमा हुन्छ भन्नुसन । कस्तो होला आमा त हुन्छ नै भन्नु हुन्न ।" अनि आमाले हाँस्दै हुन्छ भन्नुभयो । अनि कौशल्टार नपुग्दै थपियो दोस्रो माग चप्पलको । गाडि बाल्कोट छिराउने मोडमा रहेको चप्पल पसल देखेर हुनुपर्छ उनले त्यो माग अघिन सारेको । "आमा मलाई पनि चप्पल किन्दिनुस है । घर बस्ने चप्पल क्या आमा । मलाई घर बस्न चप्पल नै छैन ।" यो मागमा आमा हाँस्नुभयो मात्र । र तेस्रो माग फ्रकको उनको घर पुग्नु भन्दा अलि अगाडि राखिन् उनले । यसमा आमाको प्रतिक्रियाको त्यति ख्याल गरिएन । केहि नभएनी आमाले पनि मैले सम्झेको उखान पक्कै सम्झिनुभयो होला । झर्ने बेला सम्म पनि नानी आमालाई अरु केके भन्दैथिइन् । चटपटे बोलीमा । म भने सोच्दै थिएँ आज तोते बोली छ भोली यी आवाज चर्को हुँदै जानेछन् अनी मागहरु पनि । के हजुरआमाले सँधै यसैगरी सहज ढंगमा हाँसेर माग पूरा गर्दिन्छु भन्नुहोला ।।।।

No comments:

Post a Comment