Thursday, June 14, 2012

किनारमा उभिएको मान्छे

सेती नदिको किनारमा उभिएको एउटा मान्छे धेरैबेर देखि म उसलाई नियालीरहेको छु । ऊ घरी घरी नदीको पानी अन्जुली भरी बोकेर फेरी किनारतिर फर्किन्छ । किनार पुगेर हेर्दा अन्जुली रित्तिसकेको हुन्छ । ऊ एकछिन गम खान्छ । खै के सोच्दो हो दैब जानुन । ऊ केहिबेर उभिन्छ किनारमै र फेरी नदीमा पस्छ र अन्जुली भरी पानी बोकेर फर्किन्छ । उसले यो क्रम धेरै बेर दोहोर्याइरह्यो । अनौठो लगाब देखेँ मैले नदीको पानी प्रति उसको । तर उसको अन्जुलीमा पानी अडिएन । मात्र अन्जुुली भिज्यो । भिजेको अन्जुली हेरेर ऊ पुनः गम खान्छ । ऊ एकछिन हरायो । खै कता पो गयो अनी एउटा भाँडो लिएर फर्कियो । अब भने ऊ लगभग निश्चिन्त थियो पानी ऊ सँग हुनेछ । र ऊ नदीमा पसेर पानी लिएर किनार फर्कियो । दंग पर्यो भाडाँमा भरी पानी देखेर । ऊ पानी खेलाउँदै बस्यो । मलाई पनी कता कता खुशी लाग्यो । अन्ततः उसले आफ्नो मनचाह नदीको पानी आफुसँगै पायो । तर मान्छे कति असन्तुष्ट प्राणी हो भन्ने कुरा एक छिनपछि उसको क्रियाकलापले प्रष्ट पार्यो । उसलाई आफुसँग भएको पानीले चित्त बुझेन र फेरी नदि तिरै टोलाउन थाल्यो । प्रष्ट थियो । ऊ फेरी नदी तिर हान्नियो र अन्जुलीमा पानी लियो । यतिन्जेल त मलाई पनि अब उसप्रति हैन नदीप्रति नै माया लाग्न थालिसकेको थियो । पानी अन्जुलीमा हैन नदीमै रमाउँछ । उसलाई स्वतन्त्र ढंगमा बग्न दिएकै राम्रो नकि अन्जुलीमा कैद गर्नु । अन्जुलीमा कैद गर्न खोज्दा पानीले विद्रोह गर्यो र ऊ विलिन भयो । नदिमै पनि बाँध लगायो भने नदी उर्लिन्छ । उसलाई बग्न दिनुपर्छ । ऊ आफ्नो आकार बनाउँदै बग्छ । मलाई त्यो किनारको मान्छे प्रति भने दया लाग्यो । कस्तो प्रेम थियो उसको नदी र नदीको पानी प्रति तर पानी उसको हुन सकेन । केवल अन्जुली भिजाएर हरायो पानी । ऊ धेरैबेर अन्जुली हेर्दै बस्यो । त्यतिन्जेलअन्जुली पनि सुकिसेकेको थियो । यो पानीको जातै उस्तो ।

No comments:

Post a Comment