Saturday, June 23, 2012

अनुत्तरित


विजुलीको तारमा उल्टो झुण्डिएका अपसगुनी चमेरोका लस्कर जस्ता प्रश्नका लस्करहरु ः ऊ हरेक पल्ट जवाफविहिन हुन्छ । र पनि आफैले आफैलाई प्रश्न गर्न छोड्दैन । दोहोर्याउँछ । तेहेर्याउँछ कति कति पल्ट । तर जवाफ भेटे पो । कालिदासको क जस्तो औसत भन्दा ज्यादै ठूलो विश्मयादिबोधक चिन्ह । फनफनी घुमिरहन्छ । 

यहाँदेखि त्यहाँसम्म र त्यहाँदेखि यहाँसम्म चुरोटबाट उडेको धुवाँजस्तो कतै बादलमा गएर मिसिए त हुन्थ्यो नी , उड्दा उड्दै कतै विलाए त हुन्थ्यो नी .....त्यहि धुवाँको कस भित्र फोक्सोमा जमे जस्तो .....खै... ऊ हराउँछ कता कता ।। एकान्तदेखि डराउँछ अचेल ऊ । भन्छ त्यो घना जंगल हो , हराउँछ र बाहिर निस्कन मुस्किल पर्छ उसलाई । हो पनि धेरैपल्ट उसलाई खोज्दा खोज्दा आजित भएको छु म । निकै धेरैबेर पछि ऊ फर्किन्छ गहिरो निन्द्राबाट ब्युँझिए जस्तो गरी । अनि फिस्स हाँस्छ । बाँदरले घरी घरी घाउ कोट्याए जस्तै ऊ घरी घरी त्यसै गर्छ । हिजो आज बाँदर भएको छ ऊ । 

हिड्दा हिड्दै छिनेको चप्पलको लोता भए पो फर्ेन मिल्थ्यो वा फ्याक्न सकिन्थ्यो । बलेँसी पनि पानी परुन्जेल मात्र र्झछ पानी पर्न रोकिएपछि बलेसी पनि रहन्न । तलाउमा ढुंगा हान्दा त्यसको तरंग केहि समय मात्र रहन्छ सँधैका लागि रहिरहँदैन । ऊ फिरन्ते हुँदो हो पनि एक ठाउँमा दिक्क लागेपछि अर्को ठाउँमा सथ्र्यो होला खुशी खुशी । तर न त त्यो चुरोटबाट निस्किएको धुवाँ हो गोल गोल भएर उड्दै आकाशमा विलाउने न त चप्पलको चुँढिएको लोता नै । अँ चुरोटको धुँवा सँग चाहि तुलना गर्न सकिएला । धुँवा बादलमा गएर मिसिन्छ रे भन्छन् । बादल हेर्दा कोहि कोहि बेला त्यहि धुवाँको तर्कना हुन्छ अनि के चाहियो र फेरी डोर्याइहाल्छ नी त्यसले उहि जंगल तिर । त्यो बलेसीको पानी पनि होइन रहेछ पानी पर्न छोडेपछि सुकिजान,े न त तलाउको तरंग । अब त्यो धुवाँको कसनै बनेर रहला सायद विस्तारै फोक्सोमा थुप्रिदै जान्छ । परिणाम के होला अर्का ठूलो प्रश्न । औसत भन्दा ज्यादै ठूलो । जवाफ खोज्ने -- खै .....हराएको माल पो खोज्दा भेटिन्छ । जुन कुरा छँदै छैन कहाँ खोज्ने -- 

No comments:

Post a Comment