Sunday, September 18, 2011

सम्भावना अझै बाँकी छ !!

कोहि डाक्टर भएर आउ
कोहि इन्जिनियर भएर आऊ
कोहि लेखक भएर आऊ
बनेको छैन देश भने बनाऊ
तर बनेन देश भनेर नरिसाउ
यी हरफ राष्ट्रकवि माधव प्रसाद घिमिरेका हुन् । देशको प्रतिकुल अवस्थाका कारण विरक्तिएर विदेश हानिएका र वातैपिच्छे देशलाई सराप्ने आम मानिसलाई लक्षित गरी कवि घिमिरेले यी हरफ कोरेका होलान सायद् । ‘यो देशमा कानुनै छैन । जसले जे गर्दापनि भएकै छ । नेता जति सब चोर भए । भ्रष्टाचार, घुसखोरीले मुलुक बिग्रियो । पढेर के गर्नु काम पाइने हैन’ यस्तै यस्तै गुनासाहरु, असन्तुष्टिका स्वरहरु सुनिन थालेको धेरै भइसक्यो । यीनै स्वरहरुका लागी एउटा आह्वान हुनसक्छ कवि घिमिरेका यी हरफ । ‘कति गालि गर्छौ नेतालाई सरकारलाई, देशलाई, छोड गाली गर्न र आफ्नो काम गर ।’ हुन पनि हो सन्तुष्ट हुने कुनै ठाउँनै बाँकी छैन कि जस्तो भान पर्छ कहिले काहीँ । अखबारका पन्नाहरु खाली राजनीतिक दलका नेताहरुको खोक्रो आश्वासन र कहिले कार्यान्वयनमा नआउने प्रतिवद्धताले ढाकिएका हुन्छन् । बेरोजगारीको समस्या उस्तै गरी बढेको छ । दण्डहिनताले झन झन प्रश्रय पाउँदै गएको छ । दिन दुगुणा रात चौगुणा गरी वैदेशिक रोजगारी वा अन्य कुनै बहानामा विदेशीने युवाको संख्या बढेको छ । गरिबी यसरी बढेको छ की आफ्नै आमा बुवाले सन्तानको हत्या गर्नुपर्ने अवस्था सम्म आइसकेको छ । मानव बेचविखन, लागुऔषध तस्कर, चोरी, लुटपाट, अपहरणका घटना त सामान्य जस्तै हुन थालिसक्यो । विकास निर्माणका काम ठप्प प्राय छ । अनि सन्तुष्ट कसरी हुन सकिन्छ ? अनि डाइभर्सीटि भिसा (डिभी) भर्नेको संख्या किन नबढोस ? कोरिया काम गर्न जान चाहनेको संख्या किन नबढोस् ? सम्भावनाका ढोकाहरु सबै बन्द देखेपछि वैकल्पिक व्यवस्था त गर्नै प¥यो । तर के सम्भावनाको ढोकाहरु सबै बन्द भए त ? यो देशमा अब गर्न सकिने केहि छैन ? केहि हुन सक्दैन त ? पक्कैपनि देश रुपान्तरणको प्रक्रियामा छ । संक्रमणकालीन अवस्थाको फाइदा उठाउन कोहि पछि परेका छैनन्, चाहे ती नेता हुन् वा जनतानै ।
राजनीतिक अवस्था बिग्रिएको पक्कै छ र त्यसको प्रत्यक्ष वा परोक्ष प्रभाव हरेक क्षेत्रमा परिरहेको छ । पत्रकार रविन्द्र मिश्रको भनाई सापटि लिने हो भने ‘राजनीति कहाँ छैन आमाले बजारबाट किनेर ल्याउने सागमा पनि राजनीति घुसेको छ ।’ यति हुँदा हुँदैपनि अझै धेरै सम्भावनाहरु भने छन् । जहाँ इच्छा त्यहाँ उपाय । जब सम्म इच्छाशक्ति जीवित रहन्छ, तब सम्म सम्भावनाको ढोका बन्द हुँदैन । एउटा प्रश्न ः तपाई घरको वातावरण विग्रियो, कसिंगरले घर ढाक्यो भने के गर्नुुहुनछ ? घर छोडेर हिड्नुहुन्छ ? पक्कै पनि त्यसो गर्नुहुन्न होला । कसिंगर सफा गर्नुहुन्छ । घरझगडा वा अन्य कारणले घरायसी वातावरण बिग्रिएको छ भने त्यसलाई सल्ट्याउनतिर लाग्नुहुन्छ होला । त्यसो भए देश चाहिँ किन छोड्ने त । जब घरको समस्या समाधान गर्न घरका सबै सदस्य लागिपरिन्छ भने देशको समस्या सुल्झाउन भने किन एक अर्काको मुख ताक्ने ? देशलाई पनि एउटा घरनै सम्झौँ न के आपत्ति छ त्यसमा ? आफ्नो घर आफ्नो मुलुक । देशको समस्या हामी सबैमाझ घाम जस्तै छर्लंग छ । त्यो घरको समस्या भन्दा धेरै गुणा ठूलो छ । घरमा आउने समस्या त्यहि देशको समस्याको एक टुक्रामात्र होला सायद । शान्ति प्रक्रिया टुंगोमा पुग्ने निश्चित छैन । संविधान बन्छबन्दैन कुनै ठेगान छैन । अराजकताले पराकाष्ठा नाघिसक्यो । राजनीतिक अस्थिरताकै आडमा घटना परिघटना परिवर्तित भइरहेका छन् । यी साना समस्या हैनन् । तर शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता राष्ट्रिय समस्याहरुको हल हामीसँग छैन । त्यो हाम्रो पहुँचको कुरा हैन । तर के हामी त्यसो भन्दैमा चुप लागेर बस्ने ? गरुन न यी नेतालाई जे गर्नुछ भन्दै ? त्यसो पनि त हैन होला नी । अब सोच्ने बेला आएको छ । हामी के गर्न सक्छौँ ? संविधान निर्माणका लागी दबाब दिन संविधानसभा घेराउ गर्ने, दलका कार्यालयमा डेलिगेसन जाने, सिंहदरबारमा गएर धर्ना दिने । सडकमा टायर बाल्ने, ¥याली, जुलुस निकाल्ने ? हैन हामी यी केहि पनि नगर्ने । सरकारमाथि रचनात्मक दबाब सिर्जना गर्ने नाममा माथि उल्लेख गरिएका सबै काम भइसकेको छ । कुनै न कुनै समूहले यी कामहरु गरिसकेका छन् । कालो ब्यानर बोक्दैमा र कालोपट्टि बाँधेर काम गर्दैमा अनि धर्ना दिँदैमा र जुलुस निकाल्दैमा समस्या समाधान हुँदो रहेनछ भन्ने कुरा पनि सबैमा स्पष्ट भइसकेको छ ।
सबैभन्दा पहिलो कुरा हामी अरुमाथि दोष थुपार्ने काम बन्द गरिदिउँ । फलानाले यसो गरेन ढिस्कानाले यसो गर्छु भनेको थियो गफै मात्र दियो गरेन । यसो भन्न बन्द गरौँ । हामी आफूले के गर्न सक्छौँ, त्यसमा पूर्ण ध्यान केन्द्रित गरौँ । हो प्रश्न आउँछ अवस्य म एक्लैले के नै गर्न सक्छु र ? तर सबैले यस्तै सोच्ने हो भने सबैजना एक्लैनै हुन्छन् । हामी ठूला कुरा नसोचौँ । राष्ट्र निर्माण र राष्ट्रको समस्या हल गर्ने भन्दैमा पुल पुलेसा बनाउन लागिपर्नुपर्छ, नारा जुलुस लगाउँदै, भाषण गर्दै हिँड्नुपर्छ भन्ने छैन । हामीले गर्ने साना साना कामले पनि धेरै हदसम्म सहयोग पुगिरहेको हुन्छ । हामी समाजको अंग भएको नाताले हामीले गर्ने हरेक गतिविधिले समाजमा छाप छोडेको हुन्छ । उदाहरणको लागी अहिलेको जल्दो बल्दो समस्या लोडसेडिंगलाई लिउँ न । साताको १८ घण्टा लोडसेडिंग हुन्छ । अब यसको समाधान त हामीसँग छैन । विद्युत प्राधिकरणमा गएर झ्यालका सिसा फुटाउँदैमा बत्ति आउने हैन । बरु उल्टो क्षति पुग्छ । तर हामी के गर्न सक्छौँ भने अनावश्यक समयमा विजुली नबालेर त्यसको सन्चय त गर्न सक्छौँ नी । जापानको एउटा घटनाबाट हामीले पाठ किन नसिक्ने ? जब त्यहाँ भुकम्प र सुनामीले विद्युत आपूर्तिमा कटौति गरियो, त्यसबखत त्यहाँका जनताले सरकारी आह्वान विनानै विद्युतीय उपकरणको प्रयोगमा कमि ल्याएका थिए । तर हामीले त्यसतर्फ कहिले ध्यान दिएनौँ । हामी धेरैनै सुविधाभोगी भएका छौँ । हामीलाई घरभरी उज्यालो हुने गरी विजुली बाल्नुपरेको छ । कति सम्म भने घरमा कोहि नभएको अवस्थामा पनि पंखा, विजुली, फ्रिज लगायत उपकरण खुल्ला छोडेका हुन्छौँ । हामी भन्छौँ हाम्रो जाने हैन सरकारको जाने त होनी । पैसा तिरेको छँदैछ क्यारे । त्यति मात्र हैन चुहावट नियन्त्रण गर्न सकेन भनेर प्रधाकिरणलाई सराप्ने हामी उल्टो लाइन चोरेर बत्ति बालिरहेका हुन्छौँ । के तपाई हाम्रो दायित्व भित्र पर्दैन यसलाई नियन्त्रण गर्ने ? घर छिमेकमा यस्ता कार्य कसैले गर्छन भने त्यसको बारेमा प्रहरी वा स्थानिय प्रशासनमा किन जानकारी नगराउने ? तर हामी त्यो गर्दैनौँ किनभने डर छ नी भोलि हामीबाट केहि गल्ति भइहाल्यो वा यस्तै नियमविपरितका केहि काम कथम कदाचित गर्नुप¥यो भने साथ पाइने छैन । उसले आजको बदला भोलि लिनेछ ।
यति मात्र हैन हामी वातै पिच्छे देशमा कानुन छैन भनीरहेका हुन्छौँ । तर चुक्छौँ कहानेर भने सरकारले बनाएको कानुन पालना गर्नमा । हामी सामान्य भन्दा सामान्य नियम पालना गर्न समेत सकिरहेका छैनौँ । सोच्नुस त एक पटक, तपाईले जेब्रा क्रसिङबाट कतिपटक सडक पार गर्नुभएको छ । कति पटक सडक पार गर्न ओभरहेड ब्रिजको प्रयोग गर्नुभएको छ ? तोकिएको स्थानमा गाडि चढ्ने र ओर्लने काम कतिपटक गर्नुभएको छ ? त्यसको कार्यान्वयन कसले गर्ने ? के प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री आपैm त्यस्ता गतिविधिमा संलग्न मान्छेलाई कारवाहि गर्दै हिड्नु ? त्यो त सम्भव नहोला । कानुन बनाइसकेपछि पालना गर्ने काम त तपाई हाम्रो हो नी । अनि खोई त पालना गरेको ।
हालैको एउटा घटनालाई यहाँ प्रस्तुत गर्छु । मेरो छिमेकी गाउँमा बाटो बन्दै गर्दा अन्य गाउँका बासिन्दा पनि प्रभावित भए । बाटो बन्दा बन्दै बजेट फ्रिज भयो । बर्षाभरी बाटो हिलाम्मे भयो । सवारी साधन आवत जावत गर्न त परै जाखोस मान्छे मात्र हिँड्न पनि नहुने गरी उल्टो बन्दै गरेको बाटो बिग्रियो । बाटो हिँड्ने सबैले निर्माण कार्यको ठेक्का लिएका ठेकेदार र स्थानिय उपभोक्ता समितिलाई गाली गर्दै हिँडे । तर बाटो बनाउनतर्फ कसैको ध्यान गएन । सबैले बैकल्पिक बाटो प्रयोग गरे तर बन्दै गरेको बाटोमा कतैबाट गिटि बालुवा ल्याएर राख्ने र हिँड्न हुने बनाउनतर्फ कसैले काम गर्न सकेनन् ।

बोटो बिग्रियो सरकार, स्कुल भत्कियो सरकार, पहिरो गयो सरकार, दुर्घटना भयो सरकार, चोरी भयो सरकार, अपहरण वा हत्या भयो सरकार । सबैतिर सरकार । विकट पहाडि जिल्ला जुम्ला हुम्लामा पनि राज्यले केहि नगरेको गुनासो राजधानीमै पनि सरकारले केहि नगरेको गुनासो । यस्तो धेरै उदाहरण छन्, जहाँ हामी चुकेका छौँ र अर्काको मुख ताकेर बसेका हुन्छौँ । समग्रमा भन्नुपर्दा हामी धेरै आशे भएका छौँ । राजनीतिक दलका नेताहरु यसो गरिदिन्छौँ उसो गरिदिन्छौँ भनी आश देखाउछन् । विकासे कार्यक्रमहरु आउँछन,् त्यस्तै सपना देखाउछन् । अनि हामी सोच्छौँ सबै सरकारले गर्ने हो हाम्रो काम त उपभोग गर्ने मात्र हो ।
चिनले यस्तो विकास ग¥यो, भारत यस्तो बन्दैछ । कोरियाले कस्तो विकास गरिसक्यो । हाम्रो नेपाल भने जस्ताको तस्तै । ती देशका जनताले विकासको अनुभूति गर्नका लागी के गरेका थिए भन्ने कुरा न हामीलाई कसैले भने न हामी आफैले खोज्ने प्रयास नै गर्यौँ । कोरियाको प्रसंग यहाँ उल्लेख गर्न उचित सम्झन्छु ः त्यहाँका महिलाहरुले देशको पूर्वाधार विकासका लागी आफ्नो गर गहना धितो राखेका थिए । चिनीयाँ जनता कति खटेर काम गर्छन भन्ने कुरा यहाँ उल्लेख गर्नु नपर्ला । उनीहरु श्रमलाई सम्मान गर्छन । उनीहरु एक्लैले गर्ने कामका लागी हाम्रो एउटा ठूलो समूहनै आवश्यक पर्छ । तर हामीमा श्रमलाई सम्मान गर्ने परिपाटिको विकास नै हुन सकेको छैन । जापानी नागरिक १८ घण्टा काम गर्छन भन्ने नसुन्ने कमै होलान्, हामी ती कुरा केवल सुन्छौँ मात्र आफू त्यसो गर्न सक्दैनौँ । अरु त अरु हामी सरकारले बनाइदिएको संरचनाको समेत संरक्षण गर्न सक्दैनौँ । सरकारले बाटो बनाइदिन्छ यदि भत्किएको खण्डमा हामी त्यसलाई पुनर्निर्माण गर्दैनौँ । खानेपानीका लागी पाइप विच्छ्याइदिन्छ कतै फुटेको खण्डमा त्यसलाई टाल्ने काम सम्म गर्दैनौँ बरु कमसल पाइप राखिदिएछ भनेर उल्टो सरकारलाई गाली गछौँ ।

जथाभावि फोहोर नफाले शहर सफा हुन्छ यो भर्खर जन्मेको बालकलाई पनि थाहा हुन्छ । तर हामीलाई जतापायो त्यतै फोहोर नफाली चित्तै बुझ्दैन । कन्टेरमा फोहोर फालेर सभ्य नागरिकको पहिचान किन दिनु ? कसलाई देखाउनु छ र ? शायद यस्तै सोच्छौँ हामी । हामी कति सम्म निकृष्ट भइसकेका छौँ भने मन्दिर परिसरमा शौच गर्छौँ अनि मन्दिरमा पूजा गर्छौँ । अब आफै विचार गर्नुस हामी कतिसम्म जिम्मेवार छौँ ? आफैप्रति, समाजप्रति र देशप्रति । आफ्नै आगन फोहोर हुँदा पनि हुरी आइ फोहोर उडाउला भनेर पर्खिन सक्छौँ, त्यसको दुर्गन्ध सहन सक्छौँ तर बडार्दैनौँ ।
अरुलाई गाली गर्ने समय केहि रचनात्मक काममा लगाउने हो भने अवश्य पनि विकासको ढोका खुल्छ । धेरै नसहि तर केहि न केहि त सहयोग पुग्छनी । एकैछिन कवि घिमिरेका हरफ तर्फ फर्किउँ न । हामी सबैमा एउटा न एउटा खुवी त पक्कै छ । कोहि कवि हुन सक्छौँ । डक्टर इन्जिनि

यर, सिकर्मी, डकर्मी, जे सुकै । हरेक मानिससँग केहि न केहि सक्षमता त पक्कै हुन्छ । भन्छन् नी प्रकृतिले सबैलाई बराबरी क्षमता बाँढेका हुन्छन्, त्यसलाई चिनेर तिखार्ने माझ्ने काम भने उनले हामी मानिसमाथिनै छोडेका हुन्छन् । तर हामी ती खुवी क्षमतालाई पहिल्याउने कोसिसनै गरिरहेका हुँदैनौँ । यदि आफूभित्रको क्षमता पहिल्याउने हो भने बादलमा चाँदीको घेरा कसो नलाग्ला ? समाज रुपान्तरणको लागि हरेकले आफ्नो स्थानबाट प्रयास गर्नु भने आवश्यक छ । देशका हरेक नागरिकको काँधमा देश बनाउने जिम्मेवारी छ । हरेक नागरिकले आफ्नो स्थानबाट प्रयास गरौँ न, चाहे त्यो प्रयासले नतिजा सकारात्मक ल्याओस नल्याओस प्रयास गर्दैमा केहि बिग्रिदैन होला नी ।

No comments:

Post a Comment